नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्वीजरल्याण्डको कुटनीतिक शहर जेनेभामा बोल्दै भारत र चीनबीचको झगडाले नेपाललाई फाइदा नगर्ने बताउँदै दोक्लम झगडामा नेपालले दुवै पक्षसँग बराबरी सम्बन्ध कायम गर्नुपर्ने बताए । दक्षिणतिरको खुला सीमाना, भारतको मिचाहा प्रवृत्ति र नेपालको आन्तरिक राजनीतिमा भारतको चलखेलले गर्दा नेपाली कुटनीति सधैभरी धरापमा पर्ने बताउँदै उनले भने, ज्वालामुखीको छेउमा बसेपछि तातो त आइहाल्छ । ठूला छिमेकी मिल्दा बीचको सानो देशलाई फाइदा हुने तर दुइटा लड्दा सानोशक्तिलाई घाटा नै हुन्छ ।
एमाले भातृसँगठन प्रवासी नेपाली मन्च स्वीजरल्याण्डको दोस्रो अधिवेशनको उद्घाटन गर्दै युवा नेता भट्टराईले देश सँक्रमणकालको अन्त्यतिर आइपुगेकोले मुलुकमा राजनीतिक प्रणालीको विषयमा विवाद बाँकी नरहेको बताउँदै भने, शान्तिपूर्ण रुपमा अगाडि बढ्नुको विकल्प छैन । विदेशी स्वार्थको कारण हुने सशस्त्र आन्दोलनहरुको कुनै जनाधार थिएन र छैन पनि । नेत्रविक्रम चन्द विकल्पको माओवादीप्रति सँकेत गर्दै उनले भने, मुद्दाहरुमा आवश्यक परे जनमत सँग्रह गर्न सकिन्छ र बाह्य मलजलले देशमा सशस्त्र क्रान्ति गरेर देशलाई फेरि पछि धकेल्नु राजनीतिक बुद्धिमानी होइन।
शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा आफ्नै दलको सहयोगमा महाकाली सन्धी पारित भएपछि विद्रोहमा उत्रिएर आफ्नै कमाण्डमा अखिलका विद्यार्थीहरुसँग खुकुरी नचाउँदै कालापानी पुगेका योगेशले भने, जेनेभाको एयरपोर्ट नै आधा फ्रान्स र आधा स्वीसमा रहेछ । भारतसँग साझा एयरपोर्ट बनाउने कुरा त परै जाओस्, कल्पना समेत गर्न सकिँदैन । सबै छिमेकी स्वीजरल्याण्डका जस्ता नहुने रहेछन् । रणनैतिक र सामरिक रुपमा महत्वपूर्ण भएकैले नेपालको सँवेदनशीलता गम्भीर छ र अमेरिकीहरु समेत नेपाललाई महत्वका साथ हेर्छन् ।
सिरिया र कतारमा भए जस्तै हस्तक्षेप नेपालमा पनि नहोला भन्न नसकिने बताउँदै भट्टराईले भने, कतारले टर्की र इरानसँग ब्यापार गर्न अमेरिकासँग सोध्नुपर्ने ? सिरियाको सार्वभौमिकताको सम्मान खोइ ? सबै विश्वव्यापी द्न्द्वका पछाडि ब्यापार छ । ठूला मुलुकहरुको साम्राज्यवादी चरित्र र उनीहरुको ब्यापारिक स्वार्थका कारण
द्न्द्व भइरहेका छन् । साम्राज्यवादी दादागिरीका विरुद्ध हाम्रो आवाज उठिरहनेछ ।
दोहोरो नागरिकता मागिरहेका प्रवासी नेपालीहरुलाई दोहोरो नागरिकता नमाग्न उनले आग्रह गरे । आफ्नो पार्टीले विदेशमा बस्ने नेपालीहरुलाई लगानी गर्न आग्रह गरेको बताउँदै उनले भने, हरेक नेपालीहरुको नेपाली नागरिक हुने अधिकार सुरक्षित हुने कुरा सँघिय सँविधानमा उल्लेख गरिएको छ । अब बन्ने सँसदले त्यसको अनुमोदन गर्छ ।
अध्यक्ष सँजय मुडभरीको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा प्रवासी नेपाली मँच वेलायतका निवर्तमान एनआरएन स्वीजरल्याण्ड उपाध्यक्ष सीमा अर्याल, महासचिव भूमी गुरुँग, अध्यक्ष रामशरण सिम्खडा, मन्च वेलायतका उपाध्यक्ष कुमार केसी, जनसम्पर्क समिति अध्यक्ष श्याम सापकोटा, जनप्रगतिशील मँचका अध्यक्ष दर्शन आचार्य, युरोप प्रतिनिधि सुवास पोखरेल, जेनेभा नेपाल नेटवर्कका अध्यक्ष सोनाम लामा लगायतका अतिथिहरु बोलेका थिए । अधिवेशनले सन्जय मुडभरीकै अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष श्रवण केसी, उपाध्यक्ष दीर्घश्री मगर, बलराम विक, महासचिव विक्रम केसी, सचिव जीवन भट्टराई, कोषाध्यक्ष अशोक पाण्डे, सदस्य विदुर सँग्रौला, सन्तोष राई, प्रविण थापा मगर सदस्य र युरोप प्रतिनिधि सुवास पोखरेल सर्वसम्मत निर्वाचित गरेको छ ।