दुई चरणको स्थानीय तहको निर्वाचनपछि समिक्षामा जुटेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेस केन्द्रीय सदस्यहरुले कांग्रेस किन दोस्रो भयो भन्नेमा आफ्ना आफ्ना धारणा राखिरहेका छन्।
त्यसो त निर्वाचनमा कतिपय एमालेका गढ भत्काएर विजय मनाएको कांग्रेस देशभरमा दोस्रो स्थानमा रहुनले पीडामा छ।
आइतबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा इश्वरी न्यौपानेले दोश्रो पार्टी हुनुको पीडा पोखिन्। एक केन्द्रीय सदस्यका अनुसार, न्यौपानेले संविधानसभाको निर्वाचत जितेर आफ्नै नेतृत्वको सरकार मार्फत संविधान बनाउन भूमिका खेलेपनि तत्कालिन पार्टी सभापति केपी शर्मा ओलीसित प्रधानमन्त्रीमा हारेपछि कांग्रेसको मानसिकतै बदलिएको बताएकी थिइन्।
न्यौपाने जस्तै कांग्रेसका अर्का केन्द्रीय सदस्य श्याम घिमिरेले पनि सुशील कोइरालाले प्रधानमन्त्रीमा उम्मेद्वारी दिएर भोगेको पराजयले पार्टीका कार्यकर्ताको मनोबल घटेको बताएका थिए।
अधिकांश कांग्रेस केन्द्रीय सदस्यहरुले स्थानीय निर्वाचनमा भएको टिकट वितरणको ढिलाई, उम्मेद्वार बन्ने सबैको रहर, असन्तुष्ट साथी मनाउने समय नपाउनु र अन्तर्घात हारको कारण बताइरहेका छन्।
केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माका अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिमा अधिकांश केन्द्रीय सदस्यले हारको कारण समयमा टिकट नदिनु, उम्मेद्वारका बीचमा तालमेल नमिल्नु र टिकट पाउने र नपाउने बीचको सहमति गर्न पार्टी नेतृत्वले भूमिका नदेखाउँदा हारेको विश्लेषण सुनाएका छन्। आइतबार कांग्रेसका २१ केन्द्रीय सदस्य बोलेका थिए।
केन्द्रीय सदस्य गगन थापाले पनि उम्मेद्वार छनौटमा गल्ती भएको बताएका थिए। उनले प्रधान न्यायाधीश विरुद्धको महाभियोग प्रकरणमा अदालत विरुद्ध लागेको जनमत, लोकमानसिंह कार्की विरुद्धको महाभियोगमा नबोल्नुको दोष कांग्रेस माथि आइलागेका कारण जनता रिसाएको टिप्पणी गरेका थिए। तर कांग्रेसकै रमेश लेखकले भने निर्वाचनमा महाभियोग प्रकरणको छायाँ देख्नु गलत भएको भन्दै प्रतिवाद गरेका थिए।
बेठकमा केन्द्रीय सदस्यहरु डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउद, अर्जुनप्रसाद जोशी, जीवनबहादुर शाही, नविन्द्रराज जोशी, अम्बिका बस्नेत, पुष्पा भुसाल, गगनकुमार थापा, बद्री पाण्डे, जीवन परियार, ईश्वरी न्यौपाने, सिता गुरुङ, केशवकुमार बुढाथोकी, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, बीरबहादुर बलायर, रमेश लेखक र किरण यादवले धारण राखेका थिए। बैठक सोमबार ११ बजे पुन: बस्नेछ।