नेकपा एमालेका सचिव रघुवीर महासेठले जेनजी आन्दोलनको नाममा देशी तथा विदेशी शक्तिहरूले षड्यन्त्र गरेर हिंसा भड्काएको आरोप लगाएका छन्।
गृहनगर जनकपुरधाममा सञ्चारकर्मीहरूसँग शुक्रबार कुरा गर्दै सचिव महासेठले आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा जेनजी युवाहरूको संलग्नता नरहेको बताए।
उनले आन्दोलनका क्रममा लोकतन्त्र समाप्त पार्ने नियतले योजनाबद्ध रूपमा हिंसा मच्चाइएको दाबी गरे।
जेनजी युवाहरूले भ्रष्टाचार अन्त्य, सुशासन, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनेजस्ता जायज मागहरू उठाउँदै आएको पनि बताए।
उनले आन्दोलन चर्काउन देशी–विदेशी शक्तिहरू सक्रिय भएको उल्लेख गर्दै सार्प सुटरहरू प्रयोग गरी युवाहरूको हत्या गराइएको गम्भीर आरोपसमेत लगाए। —न्युज एजेन्सी नेपाल