रूसी कच्चा तेल किनेको भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई उच्च भन्सार महशुल लगाए पनि भारतले रूसबाट तेल किन्न नरोक्ने देखिन्छ।
यो साता भारत र अमेरिकाबीच रोकिएको व्यापार वार्ता फेरि सुरू भयो र ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा कुरा पनि गरे। यस्तो बेला भारतीय तेल प्रशोधन कम्पनीहरूले नोभेम्बर र डिसेम्बरमा पनि रूसी तेल किनिरहने योजना बनाएका छन् भनेर खरीद योजनाबारे जानकार अधिकारीहरूको हवाला दिँदै ब्लुमबर्गले लेखेको छ।
मनसुन सकिएपछि भारतमा इन्धनको माग बढ्दै गएको छ। बढ्दो माग धान्नका लागि भारतले रूसबाट तेल किनिरहने देखिन्छ।
ट्रम्पले जुलाईको अन्त्यमा भारतबाट आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका थिए। त्यसपछि भारतले अझै रूसी कच्चा तेल किनिरहेको भनेर अगस्ट २७ देखि लागू हुने गरी भारतबाट आयात हुने सबै सामानमा थप २५ प्रतिशत भन्सार शुल्क लगाए।
त्यसपछि भारतले रूसी तेलको खरिद केही घटायो। युक्रेनले रूसी तेल खानीमा ड्रोन आक्रमण गरेका कारण पनि भारतको खरिद घटेको थियो।
तर रूसी तेल नकिन्नका लागि अमेरिकाले हालेको दबाव पछिल्लो समय घटेको देखिन्छ।
यो साता ट्रम्प र मोदीबीच फोनमा सौहार्दपूर्ण कुराकानी भयो। सो कुराकानीका क्रममा ट्रम्पले रूस र युक्रेनबीचको युद्ध समाप्त गर्न समर्थन गरेको भनेर मोदीलाई धन्यवाद दिए।
त्यसैले दुई देशबीच सम्बन्ध सुध्रिएको बेला आउने महिनामा फेरि रूसी तेलको खरिद बढ्ने ब्लुमबर्गको जिकिर छ।
सन् २०२२ फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका लगायत पश्चिमा देशले रूसी तेलमा प्रतिबन्ध लगाएका छन्। तर भारतले भने सस्तोमा रूसी तेल किनिरहेको छ। त्योभन्दा अघि नगण्य मात्रामा रूसी तेल किन्ने भारत त्यसपछिका दिनमा भने रूसको मुख्य ग्राहक बनेको छ।
यसरी सस्तोमा रूसी तेल किनेको सबभन्दा धेरै फाइदा भारतीय अर्बपति मुकेश अम्बानीको रिलायन्स इण्डस्ट्रिज र अर्को निजी कम्पनी नायरा एनर्जीलाई भएको भनेर भारतीय पत्रिका द बिजनेस स्टयान्डर्डले लेखेको छ।
रूसी लगानी रहेको नायरा एनर्जीमा रूसको सरकारी तेल कम्पनी रसनेफ्टको झण्डै ५० प्रतिशत सेयर छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)