दाङ घोराही उपमहानगरपालिका १२ हापुर गुर्जेकी सीता खड्काको अनुहारबाट आजभोलि खुसी हराएको छ। काखमा दुई वर्षकी सानी छोरीलाई खेलाउनु र श्रीमान फर्कने बाटोमा अाँखा बिछ्याउनु उनको दैनिकी बनेको छ। २९ महिना अगाडि सपनाका पोकोहरु बाँधेर बिदाईका हात हल्लाउँदै मलेसिया उडेका उनका श्रीमान आजकाल बेखबर छन्।
रोजगारीको सिलसिलामा मलेसिया पुगेका उनका श्रीमान भिमसेन खड्का घर जान भनी साथीभाईहरुसँग मलेसियाको एक डोमेस्टिक एअरपोर्टसम्म पुगेका थिए। त्यहाँबाट जहाज चढेर उनी केएलको अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुपर्ने थियो। साथीभाईसँग हात मिलाउँदै विमानिस्थल हिडेका खड्का अहिले सम्पर्कविहिन छन्। उनको अवस्थाबारे परिवार र साथीभाई अनभिज्ञ छन्।
उनी मलेसियाबाट नेपालको जहाजमा उडेका थिए या थिएनन् भन्ने पनि थाहा हुन सकेको छैन। मलेसियाको फेलेक्सट्रोनिक्स शाह आलम एस.डी.एन.बी.एच.डी.पी.टी.पी. कम्पनीमा कार्यरत खड्का सम्पर्कविहीन भएको कुरा सोही कम्पनीमा कार्यरत हापुरकै माधव ताम्राकारले जानकारी गराएका थिए।
४ जुलाईमा घर जान भनेर हिँडेका भिमसेन आजसम्म पनि घर आइनपुग्दा खड्काको परिवारमा चिन्ता बढेको छ। गर्भमै रहेकी छोरीको अनुहार हेर्न नपाउँदै विदेश हिँडेका श्रीमानको खोजी गरिदिन सीताले उनले सबैसँग अाग्रह गरेकी छिन्।
‘मलेसियाबाट जुलाई ४ मा हिड्नुभएका श्रीमान अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन। उहाँका साथीले घर हिँडेको जानकारी दिनुभएको छ। १९ दिन बितिसक्दासम्म उहाँको कुनै अत्तोपत्तो छैन’, मलिन अनुहारमा बोल्दै सीताले भनिन्, ‘श्रीमानको खोजी कार्यमा सहयोग गरिदिन अनुरोध गर्दछु।’