कोरियन भाषा तथा लोकेशन राम्रोसँग नजान्दा एक नेपाली युवाले ५ महिनाको जेल सजाय पाएका छन्। कोरियाको आन्सानमा काम गर्दै आइरहेका मोरङका दुर्गा अर्याल (नाम परिवर्तन) कोरियन युवतीसँग यो स्थानमा मोटेल (होटेल) कहाँ पाइन्छ भनेर सोधेकै भरमा ५ महिनासम्म जेल जानुपरेको हो।
किम्हे माइग्रेन्ट हाउसका सञ्चालक यज्ञराज सुबेदीका अनुसार कम्पनी परिवर्तनको शिलशिलामा कोरियाको आन्सानदेखि छल्लाबुक्दो काम हेर्नको लागि पुगेका अर्याल सोही ठाउँमा रात परि फर्किने गाडीसमेत नपाएपछि बास बस्नको लागि होटेल खोज्ने क्रममा केही कोरियनलाई लोकेसन सोधेका थिए। दुई तीन जना कोरियनलाई सोध्दा कुनै उत्तर नपाएपछि बाटोमा हिड्दै गरेकी एक युवतीलाई समेत सोध्न पुगेका उनी पछि प्रहरीकै सहयोगमा होटल भेटि बास बसेका थिए।
होटेलको लोकेसन बारेमा सोधिएकि ती स्कुले युवतीले घरमा पुगी एक जना विदेशीले आफूलाई होटेलमा जाउँ भनि प्रस्ताव गरेको भनि आफ्नो बाबुलाई भनेपछि बाबुले प्रहरीमा रिपोर्ट गरेको कारण अर्याल सोही दिन बेलुका होटेलबाटै पक्राउ परेका थिए।
तीन चार घन्टाको सोधपुछ पछि अर्याललाई छोडिए पनि नेपाल फर्किने क्रममा इन्छन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पुनः पक्राउ परेको सुबेदीले बताए।
पक्राउपछि अर्यालले आफू निर्दोष रहेको भन्दै सोलस्थित नेपाली दूतावासमा पनि सहयोग मागेका थिए। दूताबासबाट पनि त्यस्तो कुनै सहयोग पाउन नसकेपछि कोरियाको किम्हेस्थित किम्हे माइग्रेन्ट हाउसका सञ्चालक तथा समाजसेवी यज्ञराज सुबेदीलाई घटनाको सम्पूर्ण बिस्तार लेखि सहयोगको लागि अपिल गरेका थिए।
सुवेदीले घटनाको सम्पूर्ण जानकारी पाए लगत्तै कोरियन वकिल लगाएर मुद्दा लडेको र ५ महिना पछि जेलबाट छुटाउन सफल भएको सेतोपाटीसँगको कुराकानीमा बताए। उनी निर्दोष रहेकै कारण जेलबाट छुटाउन सफल भएको समेत सुवेदीले बताए।
हाल किम्हे माइग्रेन्ट हाउसको सेल्टरमा रहेका अर्याल भोलि आइतबार नै नेपाल फर्किने तयारीमा छन्। मुद्दा लड्ने क्रममा मोरङ डाइनामिक समाजले समेत अर्याललाई केही आर्थिक सहयोग गरेको थियो।
कोरियामा युवती जिस्काउने, गोप्य रूपमा फोटो खिच्ने आदि गरेकै कारण नेपालीहरू प्रहरी फन्दामा परेका केही घटना छन्। गत वर्ष गर्मी मौसममा बुसान हेउन्दे समुद्र किनारमा बिकिनी ड्रेस लगाएकी एक कोरियन महिलाको गोप्य रूपमा फोटो खिचेको कारण केही नेपाली प्रहरीको फन्दामा परेका थिए।
कोरियाको कानुन अनुसार १६ वर्षभन्दा मुनिका कोरियन युवतीलाई सिधा नजरले लामो समयसम्म हेर्दा पनि समस्या आइलाग्ने भएकोले कोरियन युवतीसँग कुनै कुरा सोध्दा वा बोल्दा निकै सजकता अपनाउनुपर्ने हुन्छ।