यस साता नेप्से परिसूचक ५२ अंकले बढेको छ। साताको पहिलो दिन आइतबार १५ सय ८३ अंकमा रहेको नेप्से अन्तिम दिन बिहीबार १६ सय ३५ अंकमा पुगेको छ।
कारोबार रकममा पनि यो साता वृद्धि भएको छ। १ सय ६५ कम्पनीहरुको चार अर्ब ७३ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकम गत साताको भन्दा झण्डै १३ प्रतिशत बढी हो। गत साता १६८ कम्पनीहरुको चार अर्ब २० करोड रुपैयाँको कारोबार भएको थियो।
यो साता बैंकिङ ४०, विकास बैंक ४६, वित्त ५, होटल ८१, बिमा ६४१ र उत्पादनमूलक समूह ५८ अंकले बढेका छन्। अन्य समूह १ अंकले मात्रै बढ्यो। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११ अंकले बढेर ३४७ अंकमा आईपुगेको छ।
यस साता कारोबार रकम (२८ करोड ३४ लाख ४० हजार रुपैयाँ) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ। फर्वाड कम्युनीटी माइक्रोफाइनान्स, सूर्य लाइफ इन्स्योरेन्स, नेसनल लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्स कारोबार रकमका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।
त्यसैगरी कारोबार भएको सेयर संख्या (७ लाख १८ हजार कित्ता) को आधारमा लक्ष्मी भ्यालु फण्ड १ अग्रस्थानमा रहेको छ। त्यसैगरी कारोबार संख्या (३७०१ वटा) को आधारमा फर्वाड कम्युनीटी माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड अग्रस्थानमा रहेको छ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो। स्वदेशी लघुवित्तको साधारण सेयर बजारमा सूचीकृत भएको छ। विकास ऋणपत्र २०८० पनि सूचीकृत भएको छ। ज्योती विकास बैंक र हाम्रो विकास बैंकको हकप्रद तथा सिभिल बैंकको बोनस सेयर यो साता सूचीकृत भएको छ।