यतिखेर मुलुकका उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ जम्बो टोलीसहित अस्ट्रेलिया भ्रमणमा छन्। तर, उनको यो भ्रमण सरकारी हो वा निजी भन्ने विषयमा यहाँका प्रवासी नेपाली र जानकारहरू नै रनभुल्लमा छन्। शिक्षा मन्त्रालयका पदाधिकारी र आफ्ना छोरासहित अस्ट्रेलिया आएको एक साता बितिसकेको छ।
एक अर्बभन्दा बढी रूपैया खर्च गरेर यो वर्ष १४ सय ४२ कर्मचारी विदेश भ्रमणमा गएको सरकारी तथ्यांक सार्वजनिक भइरहँदा उपप्रधानमन्त्री गोपालमानको जम्बो टोली अस्ट्रेलिया भ्रमणमा छ। हुन त भ्रमण अस्ट्रेलियाको प्राविधिक शिक्षाको अवलोकन र भेटघाट भनिएता पनि यसमा मुलुकको उपप्रधानमन्त्रीको हैसियत कतै देखिएको छैन।
नेपालीको बलियो उपस्थिति रहेको अस्ट्रेलियामा प्रभावले पनि नेपाली समुदायको पकड बलियो छ । नेपालका राजनीतिज्ञले भेट्न नसक्ने अस्ट्रेलियन नेतासँग भेटघाट र दुई पक्षीय सम्वन्ध बिस्तारमा यहाँको समाजले पनि भूमिका खेल्न सक्छ। तर, देशको उपप्रधानमन्त्रीको भ्रमण यतिखेर एउटा सानो शैक्षिक निकायको अवलोकन र केही मझौला भेटघाटमा सिमित हुनुले यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यसअघि एनआरएनएको महोत्सव उदघाटन गर्न आएका पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतलाई पनि यहाँकै समुदायको पहलमा अष्टेलियाको प्रतिपक्षी पार्टी लेबरका नेता र यहाँको परराष्ट्रमन्त्रीसँग भेटघाटको चाँजो पाँजो मिलाइदिएका थिए।
नेपाल अष्ट्रेलिया सम्बन्धको विषयलाई नजिकबाट अध्ययन गर्न रूचाउने ब्रिसबेनस्थित सञ्चार विज्ञ डा.भरत राज पौडेल भन्छन्, ‘नेपालको नेतृत्व गरेर अष्ट्रेलिया आउने उपप्रधानमन्त्री होस् वा विदेशमन्त्री वा उच्च तहका नेताहरूले पहिलेदेखिनै दूतावास वा सम्बन्धित नेपाली नियोग र कन्सुलर कार्यालयलाई जानकारी गराएर भ्रमणमा आउनुपर्छ। यसरी मात्र आपसी सम्बन्ध बलियो बनाउन सकिन्छ,’ उनले भने, ‘यसरी देशका ठूला ब्यक्ति आउँदा त्यसले मुलुकलाई फाइदा पुग्दैन। अहिलेको यो भ्रमणले दुईपक्षीय ममिलामा वार्ताहरू हुनसक्ने सम्भावना छैन।’
यो भ्रमण कुन क्याटेगोरीको हो धेरैलाई थाहा छैन। अझ उपप्रधानमन्त्री तहको भ्रमणलाई हल्का रुपमा लिइने पछिल्लो प्रवृत्तिले हामी नेपालीको शान बढाउने होइन गिराउने काम गरेको उनले सेतोपाटीसँग बताए।
‘प्रोटोकलको ख्याल नगरी यो तहको नेताले यहाँको कुनै पनि निकायसँगको भेटघाटमा संलग्न हुनु भन्दा बरू पहिले नै जानकारी गराएर दूतावासमार्फत यहाँको उच्च तह वा मन्त्रीस्तरिय बार्ता गर्न सकिन्थ्यो,’ डाक्टर पौडेलले सेतोपाटीसँग भने।
हुन पनि गत आइतबार मेलवर्न झरेको उपप्रधानमन्त्री श्रेष्ठको टोलीले चार दिन त्यही बिताएको थियो। उनीहरूले त्यहाँ एक शैक्षिक ब्यापारीसँग राम्रै उठबस भएका कारण पनि यो भ्रमणको उद्धेश्यका बारेमा यहाँ चियो चर्चा पाएको हो। ‘यहाँ आउने नेताहरु ब्यक्तिगत एजेन्डा बोकेर आउने कारण पनि उनीहरूले आफ्नो प्रोटोकललाई भुलेको लिबरल फ्रेन्ड्स अफ नेपालका संयोजक श्री नापीतले बताए। ‘नीतिगत रुपमा मुलुकको परराष्ट्रनीति कमजोर देखिएको र देशका नेताहरू बिदेश जाँदा त्यसको महत्व र पदको गरिमा बिर्सेको भान हुन्छ,’ नापीतले थपे।
एक सातादेखि उपप्रधानमन्त्री अस्ट्रेलियामा हुनु तर एउटा टेफको निर्देशक भेटेर हाम्रा लागि कुनै नीतिगत कुरा नगर्नुले नेपाली समाजको लागि दुःखदायी कुरा भएको नापितले बताए। ‘उहाँले कम्तीमा मन्त्री लेभलको मानिस भेट्नु पथ्र्यो। यो नेपाल सरकारको नीतिगत कमजोरी हो र हाम्रा नेताहरुमा दायीत्वबोधको कमी पनि हो।’
सत्तारुढ लिबरलले जिल्ला शाखा बराबरको महत्व दिएको यो निकायका प्रमुख रहेका नापित भन्छन्, ‘यस्ता भ्रमणहरु हाम्रो लागि दुःखदायी रहदै आएका छन्। यस्ता लक्ष्यहिन भ्रमण रोकिनुपर्छ,’ उनले भने।
बिदेश जाने र घुम्ने भन्ने बित्तीकै नेताहरूले आफ्नो कुटनीतिक मर्यादा बिर्सिएको काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट अस्ट्रेलियाका नवनिर्वाचित अध्यक्ष बिजय सापकोटाले बताए। ‘हामी यहाँ हाम्रो देश र नेताका बारेमा ठूला कुरा गरेर देशको शान बढाउन खोज्छौ तर नेताहरु भने सबै बिर्सन्छन्,’ सापकोटाले भने।
‘राजनीतिक प्रभावका दृष्टीले नेताहरुप्रति नेपालमै गुनासो त छदै थियो अब बिदेशमा पनि हाम्रा नेता तथा सरकारका उच्च पदाधिकारीहरुले यस्तो रबैया देखाउँदा समग्र नेपालीहरुको शिर निहुरीएको छ,’ नेपाली समाजका अगुवा डिल्ली ढकालले सेतोपाटीसँग भने।
एउटा समान्य प्राविधिक शिक्षालयको अधिकारीसँग भेटेर चित्त बुझाउँदै कुनै पनि देशको उपप्रधानमन्त्री जस्तो मान्छे कुतनीतिक मर्यादा र प्रतिष्ठालाई वेवास्ता गर्दै हिड्नु निशन्देह चिन्ताको विषय हो। देश सानो र ठूलो हुँदैन, मुलुकको गरिमा भनेको त्यो देशका कार्यकारणि उच्च पदस्थहरुले विदेशी भूमिमा देखाउँने ब्यवहारले निर्धारण गर्छ।
टोलीमा राष्ट्रिय योजना आयोगका सदस्य गिताभक्त जोशी, शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीभीटीका सदस्यसचिव पुष्परमण वाग्ले, शिक्षा मन्त्रालयका सहसचिव वैकुण्ठप्रसाद अर्याल, अर्थ मन्त्रालयका सहसचिव निर्मलहरि अधिकारी, सिटीभीटीका निर्देशक रमेशकुमार बखती, सीप विकास परियोजनाका निर्देशक भुवनेश्वर ढुंगाना, शिक्षा मन्त्रालयका उपसचिव मुकुन्दमणि खनाल र सीप विकास परियोजनाका उपनिर्देशक उमेशकुमार मिश्रलगायत छन्।