अष्ट्रेलिया दुई सयभन्दा बढी राष्ट्रका विद्यार्थीहरुको अध्ययन गन्तव्य हो। यी सबै देशका विद्यार्थीहरुको साझा संगठन काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट अस्ट्रेलिया (सीसा) को हालै सम्पन्न भेलाले नेपाली विद्यार्थी विजय सापकोटालाई अध्यक्षमा चयन गरेको छ।
अष्ट्रेलियाको सरकारसम्म पहुँच हुने यो संगठनमा अहिलेसम्म कुनै नेपाली विद्यार्थी पदाधिकारीका रुपमा समेत पुग्न सकेका थिएनन्।
चितवनका युवा विजय सापकोटाले राष्ट्रिय अध्यक्षमा छलाङ मारेपछि अब धेरै खाले सम्भावनाका ढोकाहरु नेपाली विद्यार्थीका लागि खुलेको विश्लेषण गर्न थालिएको छ। यो अष्ट्रेलियाको सबैखाले सरकारी संयन्त्रसँग जोडिएको संस्था भएकाले यहाँ निकै महत्वका साथ हेरिने गर्छ।
युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीका यी प्रतिभा यसअघि पनि आफ्नै विश्वविद्यालयका विद्यार्थी काउन्सिलमा चुनिएका थिए।
'यो नेपाल र नेपालीको लागि गौरवको विषय हो।', राष्ट्रिय अध्यक्षमा चुनिएपछि सापकोटाले सेतोपाटीसँग भने।
'अस्ट्रेलियामा उच्च अध्ययनमा आउने दुई सय भन्दा बढी राष्ट्रका सबै विद्यार्थीहरुको प्रतिनिधित्व गर्न पाउनु आफैंमा महत्त्वपूर्ण अवसर हो । अझ त्यसमाथि मेरो यहाँका उच्च तहका पदाधिकारीहरुसँग भेटघाट भइरहने हुँदा त्यसको फाइदा देशलाई पनि पुगोस भन्ने मेरो चाहना हो।', सापकोटाले भने।