करिब एक दशक लामो अष्ट्रेलिया बसाइमा स्वतन्त्रप्रताप शाहलाई धेरै काम र उपनाममा चिन्न सकिन्छ। उनी व्यक्तिगत पेशादेखि धेरै सामाजिक कामहरुमा आवद्ध छन्। चलचित्रका नायक पनि हुन्। गीत पनि गाएका छन्।
सिड्नीको पढाइपछि ब्रिसबेनमा बसाइ सरेका शाह आफ्नो देश चिनाउन पनि खटिएका छन्।
पेशाले युवा व्यवसायी अनि शैक्षिक परामर्शदाता रहेका शाह नेपाल सरकार पर्यटन मन्त्रालयका पर्यटनदूत पनि हुन्। प्रवासमा बसेर देश चिनाउने अभियानमा उनको संलग्नता अरु भन्दा फरक पनि छ।
नेपालीको पहिचानमा खुलेर हिँड्ने र प्रचारमा पनि मरिमेटेर लाग्ने शाह आफ्नो व्यवसायको माध्यमबाट पनि मुलुक चिनाउने प्रयास गरिरहेका छन्। व्यापार त धेरैले गरेका छन् तर उनको यो व्यापार भने नामका कारणले पनि केही फरक छ।
उनले ब्रिसबेनको मुख्य केन्द्र मानिने ब्रुन्सविक स्ट्रिटमा सहपाठी होम प्यासीसँग मिलेर आठ हजार आठ सय अड्चालिस (88 Forty Eight) नामको रेस्टुरेन्ट सञ्चालन गरेका छन्। रेस्टुरेन्टले खानाका परिकार र आकारले भन्दा फरक नामले बढी चर्चा कमाएको छ।
"रेस्टुरेन्टमा आउने विदेशी ग्राहकले नामका बारेमा जिज्ञासा राख्नुहुन्छ अनि हाम्रा साथीहरुले सगरमाथाको उचाइ र नेपालको परिचय दिने काम गर्नुहुन्छ।", क्विन्सल्यान्डका पर्यटनदूतसमेत रहेका शाह बताउँछन्।
शाहले यसपटकको गैरआवासिय नेपाली संघको अध्यक्षको निर्वाचनमा झिनो मतले हारे। तर चुनावमा हारे पनि स्वतन्त्र समाजसेवा गर्नलाई पदले नछेक्ने उनको धारणा छ। भन्छन्, "म लगातार दश वर्षदेखि एनआरएन अभियानमा संलग्न थिए र रहिरहनेछु।"
"समाजको काम गर्नका लागि तँछाडमछाड गर्नुपर्ने छैन, उपाध्यक्ष थिएँ , अध्यक्षको प्रत्यासी भएँ, पाँच भोटको अन्तर भएछ।", पराजयलाई हँसिलो मुस्कानले छोप्ने प्रयास गरे शाहले।
उनले हालसालै ब्रिसबेनको नदि किनारमा एतिहासिक भवनमा इन्जिन रुम क्याफे समेत सञ्चालनमा ल्याएका छन्। सो भवन सन् १९४० मा अमेरिकी मरिनको बेस बनेको थियो।
व्यवसाय गरेपछि नाफाकै लागि गरिन्छ तर त्यसभित्र पनि केही अर्थ बोक्ने काम गर्न सकिन्छ कि भनेर रेस्टुरेन्टको नाम 'आठ आठ अड्चालिस' राखिएको उनको तर्क छ। "यसले हाम्रो मुलुकको गौरव र संसारको छानाको रुपमा रहेको सगरमाथाको उचाइमात्र बोल्दैन, समग्र मुलुकको समेत प्रतिनिधित्व गर्छ।", शाहले थपे।
कैलाली टिकापुरका स्थायी बासिन्दा शाह प्रवासी नेपाली समाजलाई सामाजिक र सांस्कृतिक रुपमा मातृभूमीसँग जोड्न सधैँ तल्लीन देखिन्छन्। उनको रेस्टुरेन्टले बिहिबार एक वर्ष पूरा गरेको छ। हामीले यसबीचमा कम्तीमा पनि आठ हजार आठ सय अड्चालिस विदेशीलाई देश र सगरमाथाको वर्णन गर्न सक्यौं होला, हाम्रा लागि यो पनि महत्त्वपूर्ण कमाइ हो, उनले सन्तुष्टि जनाए।