हृदयाघातका कारण दुई हप्ताअघि निधन भएकी निर्देशक निलु डोमा शेर्पाको सम्झनामा ओस्कार फिल्म कलेजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ। निलुको परिवार र कलेजबीच आइतबार ओस्कारमा पढ्ने ३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिएको हो। कलेजको तर्फबाट मुख्य कार्यकारी अधिकृत विनोद पौडेल र डोल्माको परिवारको तर्फबाट आमा छिरिङ शेर्पाले हस्ताक्षर गरेका थिए।
कलेज प्रशासन र डोमाकी आमाबीच भएको सम्झौता अनुसार ओस्कारमा पढ्ने तीन जना जेहेन्दार विद्यार्थीले तीन वर्षका लागि कुल एक लाख रकम प्राप्त गर्नेछन्। छात्रवृत्तिका लागि महिला तथा लैंगिक अल्पसंख्यकलाई प्राथमिकता दिइनेछ।
निलुको नाममा प्रदान गरिने छात्रवृत्तिसँगै अस्कर कलेजमा छात्रवृत्तिको संख्या २२ पुगेको कार्यकारी अधिकृत विनोद पौडेलले जानकारी गराए।
ओस्कारलाई यसअघि नै नेपाल चलचित्र विकास बोर्डले १० जनालाई सिंगापुरको ‘इनफिनिटी स्टुडियो’ले ५ जनालाई छात्रवृत्ति दिँदै आएको छ भने कलेज स्वयंले ४ जना महिलालाई ५० प्रतिशत छुटमा पढाउँदै आएको छ। छात्रवृत्ति यही साउन महिनादेखि सुरु हुने शैक्षिक सत्रदेखि प्रदान गरिनेछ।