कोरियाको छुंगछेवङ्ग तथा खाङ्गवन प्रान्तमा सोमबार बिहान भारि वर्षापछि आएको बाढीमा परि कम्तिमा ४ जनाको मृत्यु भएको छ। २ जना बेपत्ता भएका छन् भने पाँच सय जनाभन्दा धेरै विस्थापित भएको कोरियाली सञ्चार माध्यमले जनाएको छन्।
गत जुलाई १४ तारिख देखि कोरियाका बिभिन्न क्षेत्रमा उच्च वर्षापछि आएको बाढीका कारण हालसम्म ६९० घर डुबानमा परेका छन् भने १४ वटा स्कूल, १६ वटा कमर्सियल बिल्डिङ पनि डुबानमा परेका छन्। त्यस्तै ५ हजार हेक्टर जमिन समेत डुबानमा परेको सामाजिक सुरक्षा तथा संरक्षण मन्त्रायले जनाएको छ।
बाढीका कारण सहर जलमग्न भएको छ। तीन सय हेक्टर उर्बर जमिन बाढी र पहिरोका कारण डुबानमा परेको छ। कृषि फर्महरुमा बाढी पस्दा कृषकले लगाएका बालीनालीहरु नष्ट हुनुका साथै हजारौं कुखुरा तथा हाँसहरु समेत मरेका छन्। छंङ्गजु क्षेत्रका स्कूलहरु बन्द गरिएको छ।
कोरियामा यो पटकको वर्षा सन् १९९५ पछिको सबैभन्दा उच्च रहेको कोरिया मेट्रोलोजीकल एड्मिनिस्ट्रेसनले जनाएको छ। छंङ्गजुमा मात्र ९० मिलिमिटर प्रतिघन्टाका दरले पानी परेको थियो।