नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारको परिसूचक मुश्किलले हरियो अंकमा अडेको छ। सामान्य उतारचढाव देखिएको ट्रेण्ड अन्तिम समयमा एक अंकमुनि हरियो रह्यो। ०. ९ अंकले उक्लिएर नेप्से १५८३ अंकमा कायम भएको छ।
कम्पनीहरुले वार्षिक वित्तीय विवरण सार्वजनिक गर्ने महिना पनि भएकाले यो महिना सेयर बजारका लागि विशेष मानिन्छ। गत वर्षको साउन १२ गते नेप्से परिसूचक हालसम्मकै उच्च १८८१ मा पुगेको रेकर्ड छ।
यस दिन कुल १४९ कम्पनीको ६८ करोड १२ लाखको कारोबार भयो। बैंक, फाइनान्स र बिमा समूह हरियो अंकमा रहे भने अरु सबै घटेका छन्। बैंकिङ २, फाइनान्स १० र बिमा समूह १ अंकमा हरियो रहे। होटल ५, जलविद्युत ८ र अन्य समूह ५ अंकले घटे। विकास बैंक र उत्पादन समूह १ भन्दामुनि रातो अंकमा रहे।
कारोबार रकमका आधारमा सुर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर अग्रस्थानमा रह्यो। सो कम्पनीको संस्थापकतर्फको २४ करोडको कारोबार भयो। दोस्रोमा रहेको फरवार्ड माइक्रोफाइनान्सको ५ करोड ५३ लाखको कारोबार भयो। प्राइम लाइफ इन्स्योरेन्स र सानिमा बैंक पनि कारोबारका आधारमा अगाडि देखिए।
नाफाका आधारमा कुबेर मर्चेन्ट एण्ड फाइनान्सका लगानीकर्ता अगाडि देखिए। सो कम्पनीको मूल्य ९ प्रतिशतले बढेको छ। अरुण फाइनान्स, प्राइम लाइफ र पोखरा फाइनान्सको मूल्य ५ प्रतिशतभन्दा बढीले बढ्यो। गुमाउनेमा रिडी र दिव्यश्वरी हाइड्रोका लगानीकर्ता अगाडि रहे। ति लगानीकर्ताको सेयर मूल्य ७ प्रतिशतले घटेको छ।