सरकार गठन भएको ४० दिन पुग्न लाग्दा पनि सरकारले पुर्णता पाउन सकेको छैन। जेठ २३ गते प्रधानमन्त्री बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी नेपाली कांग्रेसका ३ जना, माओवादी केन्द्रका ३ जना र नेपाल लोकतान्त्रीक फोरमका १ जनालाई मात्र मन्त्री बनाएका छन्।
मन्त्रालयको भागबण्डा र मन्त्रीको संख्या तय नभएकोले प्रधामन्त्रीले मन्त्रिपरिषद्को विस्तार गर्न नसकेका हुन्। पार्टीहरुबीच भागबण्डा नमिलेकोले सरकारले पुर्णत पाउन नसकेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सेतोपाटीलाई बताए।
‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि विदेशमा भएकोले भागबण्डाको टुङ्गो लागेको छैन। पहिला त पार्टीहरुका बिचमा कुरा मिल्नप¥यो,’ उनले भने, ‘पार्टीभित्र पनि यस विषयमा कुनै छलफल भएको छैन।’ दाहाल आफ्नी पत्नी सिता दाहालको उपचारको लागि बुधबार थाइल्याण्ड गएका छन्।
कुन मन्त्रालय कसले पाउने भन्ने टुङ्गो नलागेकोले मन्त्रिपरिषदको विस्तार हुन नसकेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सेतोपाटीलाई बताए।
‘अध्यक्ष आइताबार सम्म स्वदेश फर्कीनुहुन्छ होला। त्यसपछि एक, दुई दिनमा सबै टुङ्गो लाग्छ।’ श्रेष्ठले भने ।
नेपाली कांग्रेसका नेता रमेश लेखकले मंगलबारसम्म मन्त्रिपरिषदको विस्तार हुने बताए। उनले पार्टीहरुले पाउने मन्त्रालय र मन्त्रालयको संख्या टुङ्गो नलागेको बताए। नेपाली कांग्रेसले ११ देखि १२ मन्त्रालय र माओवादी केन्द्रले ८ देखि ९ मन्त्रालय पाउने दुई दलबीच अनौपचारिक सहमति भएको भएपनि राप्रपा र संघीय समाजवादी फोरमको कारणले अघि बढ्न नसकेको स्रोतले बतायो।
दुवै पार्टी सरकारमा आउने बारेमा स्पष्ट हुन सकेका छैनन्। सरकारमा जाने नजाने निर्णय आइतबारसम्म टुंङ्गो लाग्ने राप्रपाका एक नेताले सेतोपाटीलाई बताए। संविधान संशोधन नहुने अवस्थामा राप्रपालाई सरकारलाई ल्याउन नहुने आवाज कांग्रेस र माओवादी भित्र उठेको छ भने राप्रपालाई ल्याएर सरकार बलियो बनाउनुपर्ने धारणा पनि आइरहेको छ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि सरकारमा आउने नआउने बारेमा स्पष्ट धारणा नदिएको प्रधानमन्त्री निकट स्रोतले सेतोपाटीलाई बतायो।
कांग्रेस र माओवादीबीच मन्त्रालय भागबण्डामा पनि अन्तिम सहमति हुन बाँकी छ। प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच एउटा बैठक भएपछि सबै कुराको टुङ्गीने देउवा निकट स्रोतले बतायो।
भौतिक र सञ्चार कांग्रेसले पाउने उर्जा र स्वास्थ्य माओवादी केन्द्रले पाउने अनौपचारिक सहमति भएको भएपनि समाजवादी फोरम र राप्रपा सरकारमा सहभागि भएमा भौतिक र स्वास्थ्य दुवै पार्टीले नपाउने स्रोतले बतायो।
दुई पार्टी सहभागी भएमा कांग्रेस र माओवादीले पाउने मन्त्रालयको संख्या पनि घट्ने निश्चित छ।
देउवाको मन्त्रिपरिषदमा अहिले विजयकुमार गच्छदार(उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री), गोपालमान श्रेष्ठ(उपप्रधान तथा शिक्षा मन्त्री), कृष्णबहादुर महरा(उपप्रधान एवम् परराष्ट्रमन्त्री) रहेका छन्। मन्त्रीहरुमा ज्ञानेन्द्रबहादुर कार्की(अर्थ), फरमुल्ला मन्सुर(श्रम तथा रोजागार), जनार्दन शर्मा(गृह), प्रमु शाह(सहरी विकास) रहेका छन्।
देउवाले परराष्ट्र सल्लाहाकारमा दिनेश भट्टराई र वरिष्ठ प्रेस विज्ञमा गोविन्द परियारलाई नियुक्त गरेका छन्। प्रधानमन्त्रीले मन्त्रीहरुको मात्रै होइन आफ्नो सल्लाहाकारको समुहलाई पनि पुर्णता दिन सकेका छैनन्।