मेलम्ची खानेपानी आयोजनाको सुरुङमा अबको तीन महिनापछि ‘ब्रेक थ्रु’ हुने भएको छ। अब आयोजनाको सुरुङ खन्न साढे दुई किलोमिटर मात्रै बाँकी रहेको छ। खन्न बाँकी ठाउँमा चार ठाउँबाट काम भइरहेको छ।
मेलम्चीको मुहान रहेको रिबर्मादेखी सुन्दरीजलसम्मकोे छब्बीस किलोमिटर सुरुङ मध्ये साढे तेईस किलोमीटर सुरुङ खन्ने काम सकिएको मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दवाडीले सेतोपाटीलाई वताए ।
सिन्धुदेखि ग्यालथुमसम्मको १३ सय मिटर र ग्यालथुमदेखि अम्बाथानसम्मको १२ सय मिटर सुरुङ खन्ने काम सकिएपछि सुरुङमा ब्रेक थ्रु हुने दवाडीले बताए।
‘अहिले दैनिक उन्नाईस मिटरको दरले सुरुङ खन्ने काम भइरहेको छ,’ दवाडीले भने, ‘कन्ट्रयाक्टरले अक्टोवर पन्ध्रसम्म ब्रेक थ्रु हुन्छ भनेको छ। खराब चट्टान भेटिएन भने त्यो बेलासम्म सुरुङको काम सम्पन्न हुन्छ।’
इक्वीपमेन्टमा समस्या आएको बेलामा भने काममा सुस्तता आउने उनले बताए।
‘सिन्धुदेखि ग्यालथुमसम्मको ८ सय मिटरको क्षेत्रमा खराब चट्टान भेटिएकोले काम गर्न कठिन भइरहेको छ, त्यहाँ कतिपए ठाँउमा पानी समेत बगेको छ,’ उनले भने, ‘ग्यालथुमदेखि अम्बाथानसम्मको १३ सय मिटर क्षेत्रमा भने सुरुङ अनुकुलको चट्टान छ।’
दवाडीले सुरुङ खन्ने काम रफ्तारमा भइरहेको बताए।
‘सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको बेलामा काम गर्न कठिन हुन्छ। जमिनको सतहबाट सुरुङ खन्ने ठाउँमा पुग्न समय लाग्ने भएकोले काममा समस्या आउँछ,’ उनले भने, ‘सुरुङ खन्ने ठाउँसम्म सामान पुर्याउन बढी समय लाग्छ। बर्षाको कारणले पनि थप समय लागेको छ।’
खराब चट्टान भेटिने क्रम बढ्यो भने केही समय पछाडी धकेलीन सक्ने भएपनि अब धेरै ढिलो नहुने उनले बताए। सुरुङ खन्ने काम सकेपछि भुँई प्लाष्टर र सुरुङ फिनिसिङको काम बाँकी रहन्छ।
असोजसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने योजना भएपनि सुरुङ खन्ने काममा उल्लेख्य प्रगती नभएपछि असोजमा पानी नआउने निश्चित भइसकेको छ।