आर्थिक वर्षको अन्तिम साता सेयर बजारमा कारोबार बढेको छ भने परिसूचकको अंक स्थिरजस्तै रह्यो। साताभर ४ अर्ब २० करोड रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकम गत साताको भन्दा ५९ प्रतिशत बढी हो। गत साता दुई अर्ब ६३ करोडको कारोबार भएको थियो।
बैंकहरुमा व्याज बुझाउने र राजश्व तिर्ने समय पनि भएकाले आर्थिक वर्षको अन्तिम सातालाई बजार प्रभावित हुने अवधि मानिन्छ। यद्यपी बजारमा ठूलो उतारचढा देखिएन। साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १.४८ अंकले घटेर अन्तिम दिन १५८२ अंकमा पुगेको छ।
साताभर बैंकिङ १.९, होटल २३, जलविद्युत १३, बिमा २४ र वित्त समूह २५ अंकले घटेका छन्। विकास बैंक ३ अंकले बढ्दा अन्य समूह ९ अंकले बढ्यो। उत्पादन समूह २२ अंकले बढेको छ।
यस साता कारोबार रकम (३० करोड २९ लाख ४० हजार रुपैयाँ) को आधारमा नविल बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ। नेपाल लाइफ इन्स्योरेन्स, सोल्टी होटल, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र फर्वाड कम्युनीटी माइक्रोफाइनान्स कारोबार रकमका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।
त्यसैगरी कारोबार भएको सेयर संख्या (२७ लाख १५ हजार कित्ता) को आधारमा एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड १ अग्रस्थानमा रहेको छ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो। यो साता डिप्रोक्स लघुवित्त र भार्गव विकास बैंकको हकप्रद सेयर सूचीकृत भएको छ। रिलायवल डेभलपमेन्ट र सूर्य लाइफ इन्स्योरेन्सको बोनस सेयर बजारमा सूचीकृत भएको छ।