नेपाली कांग्रेसका पुराना नेता, एवम् पूर्व मन्त्री रामहरि जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिम श्रद्धाञ्जली दिएका छन्।
शुक्रबार बिहान कांग्रेस मुख्यालय सानेपा बीपी नगरमा आयोजित कार्यक्रममा देउवाले पार्टीको झन्डा ओढाएर सम्मान गरेका थिए।
बिहीबार बेलुकी ७:३० बजे काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।
नेपाली कांग्रेसको स्थापनाकालदेखि नै नेपाली राजनीतिमा उनी निरन्तर संलग्न रहँदै आएका थिए। २००७ सालको क्रान्तिको समयमा प्रचार समितिमा रहेर स्वर्गीय जोशीले स्वदेश तथा विदेशमा प्रजातन्त्रका पक्षमा सम्पर्क स्थापित गरेका थिए।
स्वर्गीय जोशी २०४८ सालमा सर्लाही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यसैगरी विसं २०५१ र २०५६ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट उनी पार्टीको उम्मेदवार थिए ।
विसं २०४८ मा उनी शिक्षा र पर्यटन मन्त्री भएका थिए । स्वर्गीय जोशी नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको पूर्व सम्पादक समेत थिए ।
प्रजातन्त्र स्थापना र पुनस्र्थापनाका क्रममा स्वर्गीय जोशीले लामो समयसम्म जेलजीवन व्यतित गरेका थिए ।
विसं १९८३ मा सर्लाहीमा जन्मिएका स्वर्गीय जोशी सादा र सरल जीवन पद्धतिमा विश्वास गर्दथे ।
नेपाली राजनीतिमा उनी गान्धीवादी र समाजवादी नेताका रुपमा चिरपरिचित थिए ।
जोशीको पार्थिव शरीरलाई शुक्रबार ११:०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने पनि कांग्रेसले जनाएको छ ।
शुक्रबारै उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ ।
हेर्नुहोस् केही तस्बिरहरू