नेपाली कांग्रेसका नेता शशांक कोइरालाले केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
शनिबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जबाफ दिने क्रममा उनले सभापति देउवालाई कार्यबाहक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिए।
नेता कोइरालाले आगामी मंसिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले देउवाले कार्यबाहक सभापतिको जिम्मेवारी अरूलाई दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्ने बताए।
उनले मंसिरसम्ममा पार्टीको नियमित महाधिवेशनको मिति तय हुने विश्वास समेत व्यक्त गरे।
नेता कोइरालाले भने, ‘विशेष महाधिवेशन होइन कि नियमित महाधिवेशन गर्नुपर्छ। मैले शेरबहादुरजीलाई भने– यो मेरो व्यक्तिगत विचार हो। मैले उहाँलाई के भने भने तपाईं विघटन गर्नुस्। एक जनालाई कार्यबाहक सभापति दिनुस्। उनले गठन गर्दछन्। र उनले मिति तय गर्दछन्। मलाई लाग्दछ–मंसिरसम्ममा मिति तय होला भन्ने मेरो भावना हो।’
नेता कोइरालाले अब बन्ने कार्यबाहक सभापतिले पार्टीको आगामी महाधिवेशनको मिति तय गर्ने पनि बताए। —न्युज एजेन्सी नेपाल