नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले यथास्थितिमा कांग्रेस जनतामा जान नसक्ने बताएका छन्।
शनिबार पदाधिकारी र पूर्वपदाधिकारी बैठकका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेता केसीले यथास्थिति, अहिलेको विधि, पद्धति र अनुहार लिएर जनताको बीचमा कांग्रेस जान नसक्ने जिकिर गरे।
उनले अहिलेको विधि, पद्धतिलाई व्यापक परिवर्तन गर्न जरूरी रहेको उनको भनाइ छ। युवा पिँढीको धारणालाई प्रतिनिधित्व गरेर अघि बढ्नुको विकल्प नरहेको बताए।
उनले भने, ‘म आफै पनि युवाहरूले हरेक तहमा प्रतिनिधित्व गर्नुपर्छ भनेर बोलेको मान्छे हुँ। भोलि पनि केन्द्रीय समितिमा भन्छु। ऊर्जाशील समूहलाई न्यूनतम रूपमा पनि सहभागी गराउनुपर्छ। समग्र रूपमा युवा पिँढीको धारणा नै प्रतिनिधित्व गर्न सकेनौँ भने हामी वास्तवमा जनताको बीचमा स्थापित हुन सक्दैनौँ। युवाको धारणामात्रै होइन पार्टीलाई स्वतत्र र संगठित बनाउनुपर्छ। अहिलेकै यथास्थितिमा, अहिलेको विधि, पद्धति र अनुहार लिएर हामी जनताको बीचमा जान सक्दैनौँ। यसमा व्यापक परिवर्तन जरूरी छ।’
उनले ऊर्जाशील समूहलाई अब पनि पार्टीका हरेक तहमा समानजनक सहभागिता नगराए ठूलो मूल्य चुकाउनुपर्ने बताए।—न्युज एजेन्सी नेपाल