चैतमा थोपा थोपा पानी संकलन गरेर धान रोपेका दाङका किसानले यतिबेला भने वर्षाका कारण स्याहार्न पाएका छैनन्।
लमही ३ फल्कापुरका रामलाल पौडेलले सबै विदेसिँदा गाउँ घरमा खेतिपातीको कामका लागि श्रमिक पाउन मुस्किल परेको बताए। उनले भने ‘थोपा–थोपा पानीको जम्मा गरी चैते धान लगाएका हौँ र अहिले भित्र्याउने समयमा पानीले हैरान पार्दैछ, काम गर्न मानिस नै पाइँदैन।’ चैतमा पानीको अभाव भएपछि किसानले बोरिङमार्फत पानी जम्मा गरेर धान रोपेका थिए।
तयारी अवस्थाको धान भित्र्याउने सयममा वर्षाले धान काट्न र भित्र्याउन नपाएपछि खेतमै कुहिने हो कि भन्ने चिन्ता थपिएको लमही फल्कापुरकी ३७ बर्षीया रामप्यारी चौधरी बताउँछिन्। ‘लटरम्म झुलेको चैते धानको दाना खेतमै खस्ने बेला भईसक्या छ’ चौधरीले थपिन् ‘उता यो धान छिटो भित्र्याएर वर्षे धान रोप्नु छ ।’
झरीको प्रवाह नै नगरी उनले फेरि आफ्नै सुरमा धान काट्न सुरु गरिन्। उनको नजिकै कतिपय अरु किसान भने वर्षे खेतीको लागि गोरुसँगै खेतको मेलो सार्न तल्लिन थिए। एकै ठाउँमा कतै धान रोप्दै र कतै धान काट्दै गरेको उदाहरण राप्तीको तटीय क्षेत्रमा देखिन्छ।
झन्डै दुई हप्तायता दाङमा लगातारको वर्षा भएपछि किसानलाई पँहेलपुर भएर झुलेको चैते धान भित्र्याउन र वर्षे धान रोपाईको चटारोमा भ्याईनभ्याई छ। मजदुरी गर्नेहरु पनि पाउन छाडेकाले किसानलाई समयमै धान स्याहार्न नपाइने चिन्ता बढेको हो।
भित्र्याउन तयारी अवस्थाको धान केही दिन भित्रै काट्न र ओसार्न नसक्ने हो भने मेहनत खेर जाने खतरा रहेको सोही ठाउँकै किसान भक्तिराम घिमिरेले बताए। उनले पनि गाउँमा ज्यालादारी मानिस नपाउँदा समयमै तयारी अवस्थाको बाली भित्र्याउन नपाएको गुनासो गरे।
यस वर्ष दाङमा १ सय ८ हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ। गत वर्ष दाङमा ८० हेक्टर क्षेत्रफलमा चैते धानको खेती भएको थियो। यो वर्ष चैत धान प्रति हेक्टर ५१ क्वीन्टल २५ केजी उत्पादन हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयका माटो विज्ञ दिवंगर यादवले बताए। गत वर्ष प्रति हेक्टर ४० क्वीन्टल २५ केजी उत्पादन भएको र यसवर्ष प्रति हेक्टर दश प्रतिशत उत्पादन वृद्धि हुने अनुमान उनको छ।
देउखुरीको लमही नगरपालिका र गढवा गाउँपालिकामा यसवर्ष चैते धान रोपाई गर्दा केही ढिलो भएकाले वाली भित्र्याउन समस्या भएता पनि अन्य क्षेत्रमा चैतेवाली भित्र्याई सकेको यादवले जानकारी दिए। यो वर्ष दाङको वंगलाचुलीमा १२ हेक्टर, गढवाको गाउँपालिकामा १२ हेक्टर मध्ये ८ हेक्टर वाली कटान भई सकेको छ।
बबई गाउँपालिका २५ हेक्टर र राजपुरको गुरुङ र रनसिंह खोलामा ३४ हेक्टरमा चैत धान भित्र्याएर किसालने वर्षे धान खेती सुरु गरिसकेको यादवले जानकारी दिए।
जिल्लामा पछिल्लो दुई वर्ष यता चैतेधान तर्फ किसानको आकर्षण बढ्दै गएको छ। सरकारले चैते धानका लागि बाली अनुदान तर्फ प्रति हेक्टर ५ हजारका दरले प्रोत्साहन रकम किसानलाई वितरण गर्दै आईरहेको छ। जसले गर्दा किसान चैते धान वाली तर्फ आकर्षित बन्दै गएको माटो विज्ञ यादले बताए।
बर्षेवाली भन्दा चैतेवाली दश प्रतिशतले उत्पादन वृद्धि हुने भएको हुँदा पनि किसान आकर्षित हुँुदै गएको यादवको धारणा छ। दाङमा चैते धान र वर्षे धान खेतिबाट मेहनती किसानले राम्रो आम्दानी गर्दै आएका छन्। एक वर्षमै दुई पटक धान भित्र्याउने अवसर प्राप्त हुने हुँदा यसले किसानलाई आर्थिक सम्वृद्धि प्राप्त हुने यादवको धारणा छ।
खाद्यवालीमा दाङ लाई आत्मनिर्भर वनाउने उद्देश्यले सरकारले किसानलाई उत्साहित गर्ने लक्ष्यका साथ चैते धान खेतीमा प्रोत्साहन रकम वितरण गर्दै आईरहेको उनले बताए। यो वर्ष गत वर्ष भन्दा चैते धानको रोपाई तीन हप्ता ढिलाई भएका हुँदा किसानलाई वाली भित्र्याउन समस्या खेप्नु परेको माटो विज्ञ यादवले जानकारी दिए।
गत वर्ष असारको ८÷१० मै चैते बाली भित्र्याई सकेको भएपनि यो वर्ष असार सकिन लाग्दा समेत धान काट्न नपाउँदा किसान चिन्तित छन्।