चौधरी ग्रुपले नेपालमा परिवार नियोजन कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि अन्तर्राष्ट्रियस्तरमा प्रतिवद्धता व्यक्त गरेको छ ।
मंगलबार बेलायतको राजधानी लण्डनमा आयोजित परिवार नियोजन सम्मेलनका अवसरमा ग्रुपका प्रवन्ध निर्देशक निर्वाण कुमार चौधरीले परिवार नियोजन सम्बन्धि कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारलाई सहयोग गर्नेबारे तीन बुँदे प्रतिवद्धता व्यक्त गरेका हुन ।
सम्मेलनमा व्यक्त गरिएका प्रतिवद्धताहरूमा आमसञ्चारको उच्चतम उपयोगमार्फत् परिवार नियोजनका सामग्रीको प्रयोगमा वृद्धि गराई नेपाल सरकारको परिवार नियोजन अभियानलाई सशक्त तुल्याउने, परिवार नियोजनका सामग्री लगायत सम्बन्धित स्वास्थ्य सामग्रीको आपूर्ति व्यवस्थापनलाई स्थानीयस्तरमा चुस्त बनाउन सहयोग गर्ने लगायतका छन्।
त्यस्तै ग्रामीण युवाहरुलाई लक्षित गरी मोबाइल एपको प्रयोगमार्फत् यौन तथा प्रजनन स्वास्थ्यबारे जनचेतना वृद्धि गर्न सहयोग पु¥याउने चौधरीले बताए। प्रजनन स्वास्थ्यका सम्बन्धमा संविधानद्वारा प्रदत्त अधिकार तथा संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको दिगो विकास लक्ष्य अनुरूप यौन तथा प्रजनन स्वास्थ्यमा सवैको पहुँच पु¥याउन सरकारले गरेको प्रयासमा सघाउन चौधरी ग्रुपले उक्त प्रतिवद्धता व्यक्त गरेको हो ।
बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी), बिल एण्ड मेलिन्दा गेट्स फाउण्डेसन, यू.एन.एफ.पी.ए. र एफ.पी.२०२० को संयुक्त आयोजनामा सम्पन्न एक दिने सम्मेलनमा ४० भन्दा बढी देशका अर्थमन्त्री तथा स्वास्थ्य मन्त्रीहरु, अन्तर्राष्ट्रिय संघ संस्था, निजी क्षेत्र तथा नागरिक समाजका प्रतिनिधि र युवाका क्षेत्रमा वकालत गर्दै आएका संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।
हाल विकासोन्मुख देशका करिब २१ करोड ४० लाख महिलाहरु आधुनिक परिवार नियोजनका सामग्रीको पहुँचबाट बञ्चित भई अनिच्छित गर्भाधारण गर्न बाध्य भइरहेका छन् ।
आधुनिक परिवार नियोजनका साधनलाई सर्वसुुलभ गराउन सकेमा मातृ मृत्युदर एक तिहाइले घटाउन सकिने तथा ६ करोड ७० लाख अनिश्चित गर्भाधारण रोक्न र एक लाख महिलालाई अकाल मृत्युको जोखिमबाट बचाउन सकिने यस क्षेत्रमा अनुसन्धान गर्दै आइरहेको गुटम्याचर इन्स्टिच्युटको तथ्यांकले देखाएको छ ।
सन् २००१ मा हालसालै विवाह गरेका ३५ प्रतिशत महिलाले आधुनिक गर्भनिरोधका साधनको प्रयोग गर्ने गरेकोमा यो संख्या सन् २०१६ मा आइपुग्दा ४३ प्रतिशत पुगेको पछिल्लो तथ्यांकले देखाएको छ । यसरी हेर्दा नेपालमा परिवार नियोजनका साधन प्रयोग गर्ने संख्या बढ्दै गएको देखिन्छ । यद्यपि परिवार नियोजनका साधनमा ग्रामीण क्षेत्रका महिला तथा किशोरीहरुको पहुँच तुलनात्मक हिसावले कमै रहेको पाइन्छ ।