राष्ट्रिय जनता पार्टी(राजपा)को केन्द्रीय समिति ८ सय १५ जनाको भएको छ।
राजपाले बुधबार ८सय १५ जना केन्द्रीय सदस्य र १ सय ३४ जना पदाधिकारी सहितको सूची निर्वाचन अायोगमा बुझाएको छ।
पार्टीको अाधिकारिक हस्ताक्षर अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको चल्ने गरी निर्वाचन अायोगलाई बुझाइएको राजपाका महासचिव केशव झाले सेतोपाटीलाई बताए।
राजपामा अब तीन/तीन जना वरिष्ठ नेता र सहअध्यक्ष, ८ जना वरिष्ठ उपाध्यक्ष, २४ जना उपाध्यक्ष रहने महासचिव झाले जानकारी दिए।
त्यस्तै ३१ जना महासचिव, ३४ जना सहमहासचिव, १२ जना सचिव, ५ जना कोषाध्यक्ष, २ जना सहकोषाध्यक्ष, ६ जना प्रवक्ता र १ जना सहप्रवक्ता रहनेछन्। राजपा गठन हुँदा ६ पार्टीका सबै केन्द्रीय सदस्य र पदाधिकारीलाई राजपामा पनि त्यही हैसियतमा राख्ने सहमति भएको थियो।
निर्वाचन अायोगमा छ पार्टीको एकीकरणका लागि सबै पार्टीको निर्णय र राजपाको केन्द्रीय सदस्य र पदाधिकारीहरूको नागरिकताको प्रतिलिपी बुझाएको झाले बताए। 'अब पार्टी कानुनी रूपमा नै एक भएको छ। यसले जनता,पार्टी नेता तथा कार्यकर्तामा उत्साह ल्याउनेछ', झाले भने।
गत वैशाख ७ गते तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस सद्भावा पार्टी, तराई मधेस सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी र फोरम गणतान्त्रिक पार्टी मिलेर राजपा गठन भएको थियो।
राजपामा अहिले ६ अध्यक्ष सम्मिलित अध्यक्ष मण्डल बनेको छ।