राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले गठन भएको साढे दुई महिनापछि शुक्रबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिए पनि 'आवश्यक कागजात पूरा नभएको' भन्दै आयोगले पत्र काटेको छ।
राजपा केन्द्रीय कार्य समितिको निर्णय, सदस्यहरुको नाम ठेगाना र सम्पर्क नम्बर तथा नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेस गर्न आयोगले पत्राचार गरेको हो। दल एकीकरण गर्ने सम्बन्धमा सम्बन्धित दलको साविकको कार्य समितिबाट भएको निर्णय पनि आयोगले मागेको छ।
आयोगले पत्र पठाएपछि यसबारे बुझ्न राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सोमबार आयोगको कार्यालय पुगेका थिए ।
वैशाख ७ गते तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी, सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच पार्टी एकता भएको थियो। एकतापछि पार्टीको नाम राजपा नेपाल राखिएको हो।
राजपा गठनपछि यसको केन्द्रीय सदस्य कति छन् भन्ने पार्टीका नेताहरुलाई नै थाहा छैन। राजपाले केन्द्रीय समितिका सदस्यहरुको सूची अझै तयार पारेको छैन। राजपा गठन हुनुअघि साविकका ६ वटा पार्टीमा रहेका सबै पदाधिकारी र केन्द्रीय सदस्यहरुको एकीकृत पार्टीमा पनि समान हैसियत रहने सहमति भएको थियो। यसैअनुसार छ जना अध्यक्ष सम्मिलित अध्यक्ष मण्डल गठन भएको हो। अध्यक्ष मण्डलले नै दैनिक रुपमा पार्टी सञ्चालन गर्ने गरेका छन्।
साविकका ६ पार्टीमा ६ सय ६६ जना केन्द्रीय सदस्य थिए। सबै पार्टीका पदाधिकारीको संख्या जोड्दा १ सय २५ पुग्छ। साविकका पार्टीमा कति जना केन्द्रीय सदस्य थिए भन्ने नेताहरुले पनि बताउन चाहेका छैनन्।
स्रोतका अनुसार तमलोपामा १ सय ८५ जनाको केन्द्रीय समिति थियो भने २५ जना पदाधिकारी थिए। सद्भावना पार्टीमा सय जना केन्द्रीय सदस्य र २५ पदाधिकारी थिए। राष्ट्रिय मधेस समाजवादी पार्टीमा १ सय १ जनाको केन्द्रीय समिति थियो र पदाधिकारी १५ जना थिए। तराई मधेस सद्भावना पार्टीमा १ सय २५ जनाको केन्द्रीय समिति र २० पदाधिकारी थिए। नेपाल सद्भावना पार्टीमा १ सय ५ जनाको केन्द्रीय समिति थियो भने २५ पदाधिकारी थिए। त्यस्तै, ५० जनाको केन्द्रीय समिति रहेको फोरम गणतान्त्रिकमा १५ जना पदाधिकारी थिए।
राजपाको ‘जम्बो' केन्द्रीय समिति बैठक अहिलेसम्म एकपटक बसेको छ। पार्टी एकतापछि वैशाख १९ गते केन्द्रीय समिति र डेढ महिनाअघि उपलब्ध केन्द्रीय सदस्यको बैठक बसेको राजपा नेता चन्दा चौधरीले सेतोपाटीलाई बताइन्।
आधा दर्जन पार्टीका केन्द्रीय समिति मिलान गर्नु चुनौतीपूर्ण रहेकाले अन्तिम नामावली पठाउन केही दिन लाग्ने राजापका अर्का नेता केशव झाले बताए।
निर्वाचन आयोगमा राजपा दर्ता नभएकाले व्यवहारिक रुपमा यो पार्टीको अस्तित्व रहे पनि कानुनी मान्यता पाउन सकेको छैन ।