व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘स्थानीय शासन विधेयक, २०७३’ प्रस्तुत भएको छ।
उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले विधेयक प्रस्तुत गरेका हुन्।
विधेयक प्रस्तुत गर्दै उपप्रधानमन्त्री गच्छेदारले, गाउँपालिका र नगरपालिकाको अधिकार क्षेत्रलाई स्पष्ट पार्न तथा सङ्घ र प्रदेशसँग स्थानीय तहको सम्बन्धलाई स्पष्ट पार्न विधेयक ल्याइएको बैठकलाई जानकारी दिए।
विधेयकमा विरोधको सूचना दिँदै सांसदहरु प्रेम सुवाल, अनुराधा थापा मगर, डिल्लीप्रसाद काफ्लेले आफ्ना अवधारणा पेश गरेका थिए।
साथै उनीहरुले विरोधको सूचना फिर्ता नलिएपछि सभामुखले उक्त सूचनालाई निर्णयार्थ पेश गर्दा बैठकको बहुमतले अस्वीकृत गरेको थियो । रासस