असार १४ मा सम्पन्न स्थानीय तहको निर्वाचन २०७४ मा नेकपा एमालेले दाङमा ऐतिहासिक जित हासिल गरेपनि वडा तहमा भने नेपाली काँग्रेस नै पहिलो भएको छ । एमालेले दाङका दुई उपमहानगरपालिका, एउटा नगरपालिका र तीन गाउँपालिका जित्दै ऐतिहासिक जित हासिल गरेको हो । यसअघि ०५४ मा भएको स्थानीय निकायको निर्वाचनमा पनि एमाले यस्तै जित हासिल गरेको थियो । तर, हालसम्मका कुनैपनि संसदीय निर्वाचनमा एमालेले काँग्रेस र माओवादी केन्द्र झैं पुरै दाङमा जित हासिल गरेको इतिहास भने छैन।
एमालेले तुलसीपुर र घोराही उपमहानगरपालिका र लमही नगरपालिकासहित गढवा गाउँपालिका, दंँगीशरण गाउँपालिका र बबई गाउँपालिकामा जित हासिल गरेको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले बताए । एमालेले लमही नगरपालिका र दंँगीशरण गाउँपालिकाको प्रमुखमा जितेपनि उपप्रमुखमा भने नेपाली काँग्रेसले जितेको मुख्य निर्वाचन अधिकृत खड्काले जानकारी दिए ।
स्थानीय तहको दृष्टिले काँग्रेसले दाङमा एमालेको भन्दा ठिक आधा तह मात्रै जितेको छ । काँग्रेसले शान्तिनगर गाउँपालिका, राजपुर गाउँपालिका र राप्ती गाउँपालिकामा प्रमुख उपप्रमुखमा जितेको छ । त्यस्तै नेकपा माओवादी केन्द्र एउटा स्थानीय तहमा मात्रै विजयी भएको छ । माओवादी केन्द्रले वँगलाचुली गाउँपालिकाको प्रमुख उपप्रमुखमा जितेको छ । दाङमा दश स्थानीय तह छन् ।
एमालेलाई ७१ हजार र काँग्रेसलाई ६४ हजार मतदाङमा एमालेले कुल ७१ हजार ४४ मत प्राप्त गरेको छ । एमाले ६ जना प्रमुख र ४ जना उपप्रमुखमा विजय भएको छ । एक सय वडा रहेको दाङमा ३१ वडा अध्यक्ष र सदस्यतर्फ एक सय ५२ जितेको छ । एमालेले दाङमा कुल १ सय ९३ जनप्रतिनिधि आफनो पोल्टामा पार्न सफल भएको छ ।
यसैगरी, नेपाली काँग्रेसलाई कुल ६४ हजार ८ सय ३६ मत प्राप्त भएको छ । कांग्रेसले ३ जना प्रमुख ५ जना उपप्रमुख र ४२ वडामा जित हासिल गरेको छ । दाङमा काँग्रेसका १ सय ५३ सदस्यसहित कुल २ सय ३ प्रतिनिधी विजयी भएका छन ।
त्यस्तै, नेकपा माओवादी केन्द्रले दाङमा ४५ हजार १ सय ७५मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्रले दाङमा १ प्रमुख १ उपप्रमुख र २६ वडा अध्यक्ष जितेको छ । दाङमा उसका ९३ सदस्यसहित १ सय २१ जनप्रतिनिधी विजयी भएका छन ।
यस्तै, मधेशी जनअधिकार फोरमका दुई वडा सदस्य निर्वाचित भएका छन् । बबई गाउँपालिकामा एकजना स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन् । बबई गाउँपालिका अन्तरगतको वडा नं.७ मा स्वतन्त्र उम्मेदवार महावीर चौधरी निर्वाचित भएका छन् । चौधरीले एमालेका वडा अध्यक्षका उम्मेदवार कृष्ण चौधरीलाई ७ मतान्तरले पराजित गरेका थिए । त्यसैगरी, लमही नगरपालिका वडा नं. १ को वडा अध्यक्षमा निर्वाचित नेकपा एमालेका नुमराज पौडेले काँग्रेसका उम्मेदवार दामोदर पौडेलाई एक मत अन्तरले पराजित गरेका थिए । एमालेका पौडेललाई वडा अध्यक्षमा ५६० र काँग्रेसका पौडेललाई ५५९ मत प्राप्त भएको थियो ।
दाङमा ५ सय २० जनप्रतिनिधीका लागि २ हजार ३ सय ८२ जना चुनावी मैदानमा उत्रिएका थिए । २ लाख ९१ हजार १ सय ७३ मतदाता संख्या रहेको दाङमा ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जानकारी दिए ।