मध्यपूर्वमा चलिरहेको जिहादी लडाइँमा संलग्न उच्चतहका व्यक्तिहरु सुरक्षित रुपमा स्वीजरल्याण्डमा बसेको तथ्य पत्ता लगाएर पनि सरकार चुपचाप बसेको तथ्यले त्यहाँ सनसनी मच्चाएको छ ।
स्वीजरल्याण्डको जासुसी संस्था ‘फेडेरल इन्टेलिजेन्स सर्भिस’को यससम्बन्धि तथ्य गतसाता स्थानीय पत्रपत्रिकामा छापिएपछि सरकार भने अप्ठ्यारोमा परेको छ ।
गत साता जर्मनभाषी भेगमा प्रकाशित हुने पत्रिका ‘टागेस एन्जिगर’ र स्वीसभाषी क्षेत्रको ‘त्रिब्युन दि जेनेभ’ले विशेष महत्त्वकासाथ इन्टेलिजेन्स सर्भिसको गोप्य तथ्याङ्क छापेका थिए ।
स्वीस जासुसी निकायले सन् २००१ देखि पाकिस्तान, अफगानिस्तन, टर्की र मध्यपूर्वमा आवतजावत गर्ने सबैको सूची बनाएर उनीहरुको अनुसन्धान नै गरेको थियो । स्वीजरल्याण्डबाट जिहादको निम्ति लड्न गएकामध्ये १६ जना मारिएको, केही फर्किएको र केही तालिबानसँग सामेल भएर उतै बसिरहेको तथ्याङ्क गोप्य रुपमा तयार गरिएको थियो ।
‘बाल्कन र उत्तरी अमेरिका मूल थलो भएका स्वीस नागरिकहरु र स्वीजरल्याण्डमै जन्मिएका आप्रवासी बाबु आमाका छोराछोरीहरु मस्जिदको नियमित प्रशिक्षणमा अहिले पनि धार्मिक उग्रपन्थतिर उन्मुख छन्, जिहाद लड्न गएका पनि तिनै हुन्’, जासुसी रिपोर्टमा लेखिएको छ । जिहादमा संलग्न भएर अकुत सम्पत्ति कमाएकाहरु पनि स्वीजरल्याण्डमा विभिन्न देशको नागरिकता लिएर बसिरहेको तथ्य पनि पत्रपत्रिकामार्फत सार्वजनिक भएको छ ।
पत्रिकाले सङ्ख्या नै तोकेर विलासी तरिकाले विन्टरथरमा १२, लौजानमा ९, जेनेभामा ५, बियरेमा ४, आर्बनमा ४ जना जिहादीहरु गजबको स्वर्गीय जीबन बिताइरहेका बताएको छ । उनीहरुसँग विलासी गाडी, विलासी घर र अकुत सम्पति भएको पनि बताइएको छ ।
पत्रपत्रिकाले भनेका छन्– सरकारसँग सबै सूचना छ । जिहादीका हरेक गतिविधि उनीहरुको निगरानीमा छ । सरकारले उनीहरुलाई निगरानी गरेको पनि जिहादीलाई थाहा हुन सक्छ तर अकुत सम्पतिका कारण बस्ने अनुमति पाइरहेका उनीहरु जर्मन हुँदै टर्की पुग्छन् र त्यहाँबाट सिरिया जान्छन् । ठूलो नेटवर्क भएको हुनाले उनीहरु सहजै आफ्ना गतिविधि सरलतापूर्वक गर्छन् ।
जिहादीहरुले पनि स्वीजरल्याण्डमा हमला नगर्ने बरु मुस्लिम बहुल जर्मन, बेल्जियम र फ्रान्समा हमला गरेर दुख दिइरहने, आफ्नो उपस्थिति जनाइरहने र जिहादको प्रचारप्रसार पनि गरिरहने रणनीति लिएको विश्लेषकहरुको ठम्याइ छ ।