नेपाल टेलिकमले धौलागिरी अञ्चलका विभिन्न बिकट तथा ग्रामीण क्षेत्रमा जिएसएम मोवाइल सेवाको गुणस्तरलाई नयाँ प्रविधिमा स्तरोन्नति गर्दै केही स्थानमा बिटीएस टावर सञ्चालनमा ल्याएको छ।
टेलिकमले म्याग्दीको रघुगंगा गाउँपालिकाको पाखापानीमा ३० मिटरको ग्राउण्ड बेस्ड बिटिएस टावर स्थापना गरी टु जी सेवा संचालनमा ल्याएको छ। यो सँगै पाखापानी, कोटडाँडा, ठाडाखानी, रायखोर, चिमखोला, दमीज र कुइनेमंगलेका सर्वसाधारण तथा यस क्षेत्रमा आउने पर्यटकहरु मोबाइल सेवाबाट लाभान्वित भएका छन्।
त्यस्तै बाग्लुङको पयूँपाटा खर्सेडाँडामा बिटीएस टावर स्थापना भई संचालनमा आएको छ। सो क्षेत्रमा बुधबारदेखि टुजी तथा थ्रीजी सेवा सञ्चालनमा आएको छ। योसँगै पाङ, सर्हसधारा, नयाँपुल, अरमादी र छर्मकेका बासिन्दाहरु मोबाइल सेवाबाट लाभान्वित हुनेछन् ।