तपाईँ कास्की जिल्ला अदालतमा कुनै काम लिएर जादै हुनुहुन्छ? आफूले कस्तो पोसाक लगाउनु भएको छ ख्याल गर्नुहोस् । किनभने कास्की जिल्ला अदालतमा हाफ पाइन्ट, मिनिस्कट, जाँगेलगायतका अंग प्रर्दशन गर्ने खालका बस्त्र लगाएर अदालतको पर्खाल भित्र पस्न पाइने छैन।
अदालत प्रशासनले त्यस्ता बस्त्र लगाएर आउनेलाई गेटबाटै फर्काउने गरेको छ। कास्की जिल्ला अदालतका सेस्तेदार कृष्णप्रसाद नेपालले अदालतलाई मर्यादीत बनाउन आफूहरूले त्यस्तो व्यवस्था गरेको बताए ।
‘अदालत मर्यादीत क्षेत्र हो,’ उनले भने, ‘कति सेवाग्राही लाजै नमानी आपत्ती जनक बस्त्रमा लगाएर आउँछन्।’ नेपालले अदालतमा आउँदा यस्तै पोशाक लागउनुपर्छ भने छैन तर अंग प्रर्दशन गर्ने खालका पोशाक लगाउनु भएन। ‘सर्ट पाइन्ट, कुर्था, सुरूवाल, साडी, चोलो जे लगाए पनि हुन्छ,’ उनले भने ‘तर टी-सर्ट, हाफ पाइन्ट, मिनिस्कर्ट लगाएर आउन प्रवेश निषेध छ।’
उनले विदेश गएर आएका धेरैले टी-सर्ट, हाफ पाइन्ट, मिनि-स्कर्टमा आउने गरेको बताए। उनले गाउँबाट कुनै मानिस कछाड बाँधेर आउँछ भने उसले प्रवेश पाउने तर टीसर्ट र हाप पेन्ट लगाएर अदालतमा आउनेले प्रवेश गर्न नपाइने बताए।
विदेश गएर आएकाहरू वानपिसमा समेत आउने गरेको उनको भनाई छ। ‘हाफ पाइन्ट, जाँगे, मिनिस्कर्ट तथा अंगप्रदर्शन गर्दै ग्लामरर्स बन्न खोज्नेहरुलाई प्रवेश छैन,’ उनले सेतोपाटीसँग बताए। अदालत हाता भित्र प्रवेश गर्न नपाउँदा कोही त्यतिकै फर्कने गरेका छन् भने कोही घरबाट कपडा मगाएर त कोही नयाँ कपडा किनेर लगाएर मात्र प्रवेश गर्ने गरेको एक कर्मचारीले बताए।