काठमाडौंको ठमेलमा हत्या गर्ने व्यक्ति नख्खु कारागारबाट भागेका कैदीबन्दी रहेको खुलेको छ।
असोज १३ गते मध्यराति काठमाडौं-२६ ठमेल बुद्धबार गल्लीमा एक पुरूषलाई हतियार प्रहार गरी घाइते बनाइएको थियो। मकवानपुर घर भई बालाजु मनमैजु बस्ने २५ वर्षीय सुरज तामाङ घाइते भएका थिए।
उनलाई वीर अस्पताल लगिएकोमा उपचारको क्रममा असोज १४ गते नै मृत्यु भएको थियो।
अनुसन्धानको क्रममा हत्या गर्ने आरोपित दाङ राप्ती गाउँपालिका- १ का आकाश मगर रहेको खुलेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार उनले हतियार प्रहार गरेका थिए। हतियार प्रहार गरी अहिले पनि उनी फरार छन्।
अनुसन्धानको क्रममा उनी नख्खु कारागारबाट भागेका कैदीबन्दी रहेको खुलेको हो।
लागुऔषधको मुद्दामा नख्खुमा २०८० असोज २७ गतेदेखि थिए। भदौ २४ गतेपछि फरार भएका उनी अझै भेटिएका छैनन्।
प्रहरीले उनको खोजी गरिरहेको छ।