लार्स स्टेन्डलको निर्णायक गोलको सहयोगले विश्व विजेता जर्मनीले कोपा अमेरिका विजेता चिलीलाई १–० ले पराजित गर्दै रुसमा सम्पन्न कन्फिडरेशन कपको उपाधि जितेको छ।
युवा खेलाडीले भरिएको जर्मनीले चिलीका डिफेन्डर मार्सेलो डियाजले २० मिनेटमा गरेको गल्तीको फाइदा उठाएको थियो। डियाज आफ्नो डिबक्स बाहिर बल क्लियर गर्न नसक्दा टिमो वेर्नरले खोसेर लगेको बलमा स्टेन्डलले गोल गरेका थिए।
यसअघि आर्टुरो भिडाल र एन्जेलो सागलले गोलको अवसर खेर फ्याकेका थिए। जर्मनीको पछिल्लो तीन वर्षमा यो तेस्रो ठूलो उपाधि हो। २०१४ को विश्व कप जितपछि जर्मनीले युरोपेली युथ–२१ च्याम्पियनसिपको पनि उपाधि जितेको थियो।
सन् २०१४ को विश्व कप जित्दाका स्टार खेलाडी गोलकिपर मानुअल नेउर, मिडफिल्डर मेसुट ओजिल, टोनी क्रुज र थोमस मुलरलाई विश्राम दिएको फाइनलमा मिडफिल्डर लियोन गोरेजकाले उत्कृष्ट प्रदर्शन गरेका थिए।
तेस्रो स्थानका लागि भएको अर्को खेलमा पोर्चुगलले अतिरिक्त समयमा मेक्सिकोलाई २–१ ले पराजित गर्यो।