विदेशमा काम गरेर फर्की स्वदेशमा उद्यम थालेका ८ जना उद्यमीलाई सरकारले सम्मान गरेको छ।
श्रम तथा रोजगार मन्त्रालयले आइतबार काठमाडौंमा एक कार्यक्रम गरी तिमध्ये उत्कृष्ट एक उद्यमीलाई १ लाख र अन्य ७ जनालाई जनही ५० हजार नगदसहित उद्यमी राष्ट्रिय पुरस्कारद्धारा सम्मान गरेको हो।
श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले विदेशमा काम गरी फर्केर मनकामना कार्ड बोर्ड इन्डष्ट्रिज संचालन गरेका सूर्यप्रसाद न्यौपानेलाई नगद १ लाखसहित उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरे।
त्यसैगरी हिमाली हिल एग्रीकल्चर फार्मका संजय शेर्पा, कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रका सरोज कोइराला, सर्बाखास कृषि फार्मका पासाङ तेन्जी शेर्पा, सिग्मा एण्ड भिजन तयारी पोशाकका शालिकराम पुरी, आधुनिक कृषि तथा जडिबुटी व्यवसायिक फार्मका टोपलाल विश्वकर्मा, फ्रेस हाईजेनिक फुडका दिपकुमार जोशी र मनकामना हाइड्रो इलेक्ट्रिक प्रडक्टका हिरामणि भट्टराईलाई जनही नगद ५० हजारसहित उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको छ।
स्वदेशमै श्रम गरी मुलुकलाई समृद्धि बनाउने अभियानमा साथ दिएकाहरुलाई सम्मान गरिएको श्रम तथा रोगजार मन्त्री मन्सुरले बताए। उनले मुलुकमा जनताको सर्वोच्चता स्थापित भएको उल्लेख गर्दै अब राज्यका सबै निकाय जनताप्रति उत्तरदायी हुने अवस्था आएको बताए। मन्त्री मन्सुरले विदेशमा काम गरी फर्केका नेपाली नागरिकहरुको हितमा काम गर्न सरकार लागि परेको पनि दावी गरे।
सरकारले बैदेशिक काम गरी फर्केका नेपालहरुको तथ्यांक संकलनको काम सुरु गर्ने तयारी पनि गरेको छ । मन्त्री मन्सुरले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर विदेशमा काम गरी फर्केका नेपालीहरुको तथ्यांक तयार पार्ने काम अब छिट्टै सुरु हुने उल्लेख गरे।