संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा कायम मुकायम प्रधान न्यायाधीश गोपाल पराजुलीको नाम सिफारिस गरेको छ।
परिषद्को बिहीबार बसेको बैठकले सर्वसम्मत रुपमा पराजुलीको नाम सिफारिस गरेको हो। यसअघि असार ५ गते बसेको परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पराजुलीको विषयमा अध्ययन गर्न समय मागेका थिए।
परिषद्को सिफारिस पछि अब पराजुलीको संसदीय सुनुवाई हुनेछ। संसदीय सुनुवाई पछि राष्ट्रपतिले प्रधान न्यायाधीशलाई नियुक्ती तथा पद तथा गोपनियताको सपथ खुवाउनेछिन्।
न्याय परिषद्मा उमेर विवादका कारण पराजुली कति दिन प्रधान न्यायाधीश बन्नेछन् भन्ने चासो सर्वत्र थियो। पराजुली लामो समय उमेर विवादमा फसेका थिए। तत्कालिन प्रधान न्यायाधीश सुशीला कार्कीले पराजुलीको उमेर सच्याउने निवेदनलाई कार्यान्वन गरेकी थिइनन्।
तर पराजुली आफैँ कायम मुकायम प्रधान न्यायाधीशको रुपमा न्यायापरिषद् पुगेपछि उमेर सच्याएर रेकर्ड राखेका थिए। साथै ११ महिना प्रधान न्यायाधीश हुनेगरि संवैधानिक परिषद्मा न्यायापरिषद्बारा रोष्टर पठाएका थिए।