दाङको एउटा निर्वाचन बुथको मतदान प्रक्रिया अहिले सम्म अन्यौलमा छ।
दाङको सबैभन्दा पश्चिम सीमामा पर्ने बबई गाउँपालिका वडा नं. ४ हापुरे अन्तरगतको हस्नापुर मतदान केन्द्रवाट लक्ष्मी विक नाम गरेकी महिलाले फर्जी मत हालेको भेटिएपछि उतपन्न विवाद अझै टुंगिएको छैन।
बुधबार दिउँसो साढे ३ वजेपछि मतदान स्थगित भएको र हालसम्म सुरू हुन नसकेको स्थानीय युवा झुपलाप बुढा क्षेत्रीले जानकारी दिए।
क्षेत्रीका अनुसार लक्ष्मी विक नाम गरेकी महिलाले भारतमा रहेकी पूर्णकली विकको नामवाट फर्जी मतदान गरेपछि मतदान स्थगित हुन पुगेको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी धिरज प्रताप सिंहले फर्जी मत हाल्ने लक्ष्मी विकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। दिउँसो साढे तीन बजेतिर स्थगित मतदान अहिले सम्म सूचारु हुन नसक्दा अब मतदान हुने वा नहुने अन्यौंलता सृजना भएको एसपी सिंहले जानकारी दिए।
एमाले कार्यकर्ताले फर्जी मत हालेको भन्दै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र लगायतका एजेण्टहरु मतदान स्थल छोडेर बाहिरीएका थिए। त्यहाँ विवाद उत्पन्न भएपछि निर्वाचन अधिकृत सम्पर्क विहिन बसेका छन्।