रोजगारीको हिसाबले आकर्षक मानिएको दक्षिण कोरियामा विदेशीको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ।
गएको एक दशकमा बिदेशीको संख्या पहिलेको भन्दा दोब्बर पुगेको न्याय मन्त्रालयले प्रकाशित गरेको एक तथ्यांकले देखाएको छ।
प्रकाशित तथ्यांक अनुसार सबैभन्दा ठूलो संख्यामा चिनियाँ कामदारको रहेको छ भने दोस्रोमा भियतनामीहरुको संख्या छ।
सन् २००६ मा ९ लाख १० हजार रहेको बिदेशीको संख्या सन् २०१६ को अन्तिमसम्म आइपुग्दा बढेर २५ लाख भन्दा माथि पुगेको छ। पछिल्लो समयमा विदेशीको संख्या ह्वात्तै बढ्नुमा बिभिन्न क्षेत्रमा कोरियन कामदारको अभाव नै मुख्य कारण मानिएको छ।
सन् २०१६ सम्मको तथ्यांकमा कोरियामा रहेका विदेशी मध्ये सबै भन्दा बढी चाइनिज छन्। उनीहरुको संख्या कुल बिदेशीको संख्याको झन्डै आधा जति अर्थात ११ लाख भन्दा बढी छ भने भियातनामिको झन्डै डेढ लाखको हाराहारीमा छ। त्यस्तै तेस्रो स्थानमा रहेको अमेरिकनको संख्या १ लाख चालिस हजार भन्दा माथि छ।
कोरिया सरकारले वार्षिक रूपमा बिभिन्न देशबाट ५० हजारभन्दा बढी कामदार ल्याउने गरेको छ। हाल कोरियामा कार्यरत नेपालीको संख्या ४० हजार नाघिसकेको छ।