बदर मत घटाउने उद्देश्यले निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम जिल्लामा प्रभावकारी रुपमा हुन नसकेको गुनासो आएको छ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अत्याधिक मतपत्र बदर भएपछि दोस्रो चरणको चुनावका लागि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउन निर्वाचन आयोगले निर्देशन दिएको थियो। तर पनि कतिपय ठाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसकिएको पाइएको छ।
जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको भनिए पनि आफ्नो घरदैलोमा सो कार्यक्रमका लागि स्वयंसेवक नपुगेका स्थानीयवासीले गुनासो गरेका छन्। चुनावी रौनक छाए पनि मतदान गर्नेबारे अहिलेसम्म कसैले नसिकाएको दोगडाकेदार गाउँपालिका– ५ न्वालीका दुर्गा भुलले बताइन्।
‘चुनावमा मतपत्र ठूलो हुन्छ भन्ने सुनेकी छु, मतपत्र नदेखेकाले मत बदर हुने हो कि भन्ने चिन्ता छ,’ उनले भनिन्।
यस्तै दोगडाकेदार गाउँपालिका–६ पञ्ज्यूनयाँका जैता कार्की आफ्नो गाउँमा मतदान गर्ने तरिका बारेमा कसैले पनि नसिकाएको बताउँछन्। एउटै मतपत्रमा सातजना उम्मेदवारलाई भोट दिनेबारे उनी निकै अन्योलमा छन्।
जिल्लामा १७४ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको भए पनि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको विभिन्न ठाउँका मतदाताले गुनासो गरेका छन्। तर जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँल जिल्लाका सबै स्थानीय तहमा मतदाता शिक्षा स्वयंसेवक पठाएको र मतदान गर्ने तरिकाबारे सिकाएको बताउँछन्।
‘मतदाता शिक्षा नपुगेका मतदाताका लागि आइतबारदेखि मङ्गलबारसम्म मतदाता परिचयपत्र वितरण भइरहेको सम्बन्धित मतदानकेन्द्रमा पनि मतदान गर्नेबारे सिकाउने काम भइरहेको छ,’ उनले भने। रासस