दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुन दुई दिन बाँकी रहँदा घरदेखि टाढा रहेका मतदाता मतदान गर्नका लागि घर फर्कन थालेका छन्।
झन्डै दुई दशकपछि र नयाँ संरचनामा पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि मतदाता घर फर्कन थालेका हुन्।
कामको सिलसिलामा भारत पुगेका र नेपालकै विभिन्न जिल्लामा रहेका मतदाता मतदानका लागि गृह जिल्लामा फर्कने क्रम सुरु भएको छ। मतदाता नामावली रहेको क्षेत्रमा फर्कनेको क्रम बढ्दै गएको र गाडीमा पनि चाप बढेको छ। ‘वर्षौंपछि हुनलागेको स्थानीय तहको निर्वाचनमा भोट हाल्न घरमा आएको हुँ’ ,भारतको चण्डीगडमा बस्दै आएका तुलसीपुर –३ का यमबहादुर नेपालीले भने।
दाङदेखि बाहिर रहेका फर्कंदै छन् भने दाङलाई कर्मथलो बनाएका अन्य जिल्लाका मतदाता पनि आफ्नो गृह जिल्लामा फर्कने क्रम जारी छ। पेसा, व्यवसायकै कारण सहर झरेका सर्वसाधारण मतदाता पनि नामावली रहेको गाउँटोलमा फर्कन थालेका छन्।
‘मेरो नामावली रोल्पामा छ,त्यसैले आजै रोल्पा जान लागेको छु –रोल्पाको पाखापानी निवासी भिमबहादुर वलीले भने’। त्यसैगरी अध्यनका लागि काठमाडौं, पोखरालगयातलका सहरमा पुगेका युवायुवती पनि मतदानका लागि घर फर्र्कने क्रम जारी रहेको छ।
‘मेरो एक भोटका कारण कुनै उम्मेदवारले हार्नसक्छ, त्यसैले भोट हाल्नका लागि काठमाडौँदेखि दाङ आएकी छु’, तुलसीपुर –४ कि रमा खड्काले भनिन्। रासस