गृहमन्त्री जनार्दन शर्माले स्थानीयतहको निर्वाचनमा जनता निकै उत्साहित रहेको र राजनीतिक दलहरुबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण देखिएको बताएका छन्।
उनले सोमबार बिहान पत्रकारसँग गरिएको साक्षात्कार कार्यक्रममा दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण रुपमा हुने विश्वास व्यक्त गर्दै ढुक्क भएर निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह गरे।
गृहमन्त्री शर्माले पहिलो चरणको निर्वाचनमा एकाध घटनाबाहेक पूर्णत शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै दोस्रो चरणको निर्वाचनमा पनि शान्ति सुरक्षाको दृष्टिकोणले कुनै कमीकमजोरी नरहेको बताए।
गृहमन्त्री शर्माले शान्ति सुरक्षाको कारण नभइ राजनीतिक समस्या समाधान गर्नका लागि तीन चरणमा निर्वाचन गराउनु परेको स्पष्ट पारे।
उनले निर्वाचन बिथोल्न अघि सरेको नेकपा माओवादी विप्लव समूहले पनि थवाङलगायत कतिपय स्थानमा निर्वाचनमा भाग लिइरहेको बताए।
त्यस्तै संविधानप्रति असन्तुष्ट रहँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) कै सहमतिमा प्रदेश नम्बर २ मा असोज २ गते निर्वाचन गर्न सरकार तयार भएको उनले बताए।
गृहमन्त्री शर्माले स्थानीय निकायको निर्वाचन सम्पन्न भएपछि मङ्सिरभित्रै अन्य निर्वाचन गरिसक्ने तयारी सरकारले गरेको बताए। रासस