नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनसरकारले स्थानीय तहको रुपमा मान्यता प्राप्त गरेको बताएका छन्।
माओवादी केन्द्रले आइतबार दिक्तेलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले जनयुद्धका क्रममा अभ्यासमा ल्याइएका जनसरकारका युनिटले हाल स्थानीय तहका रुपमा संवैधानिक मान्यता प्राप्त गरेको बताएका हुन्।
‘स्थानीय जनसरकारको निर्वाचन संवैधानिक तथा वैधानिकरुपले संविधानमा व्यवस्था गरेर ल्याइएको छ’,उनले भने, ‘नेपाली काँग्रेस, नेकपा एमालेले जित हासिल गरे यो उपलब्धिलाई पुनः गाउँ पञ्चायत बनाउने खतरा छ।’
जनसरकारको अभ्यास गर्ने, एजेण्डा पेस गर्ने र नेतृत्व गर्ने पार्टीले हार बेहोरे देश पुनः पञ्चायतकालीन अवस्थामा फर्कने उनको भनाइ थियो।
एमालेका नेताको हिमचिम, उठबस र प्रेम हिजोका राजावादी र पूर्वराजा ज्ञानेन्द्रसँग बढेको भन्दै अध्यक्ष दाहालले एमाले गणतन्त्रवादी हुँदै नभएको दाबी गरे। अध्यक्ष दाहालले यसअघि जिल्लाको दक्षिणी क्षेत्र सिम्पानीमा आयोजना गरिएको सभालाई समेत सम्बोधन गरेका थिए। रासस