भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार अमेरिका पुगेका छन्। मोदीलाई अमेरिकामा भारतीय राजदूत नवतेज सरना र उनकी श्रीमतीले स्वागत गरेका थिए। अमेरिकामा रहेका भारतीयहरुले पनि मोदीको स्वागत गरेका थिए।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि मोदीको यो पहिलो अमेरिका भ्रमण हो।
मोदीले अमेरिका भ्रमण अघि सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो अमेरिका भ्रमणको उदेश्यबारे जानकारी दिएका थिए। उनले ट्वीटमा लेखेका छन्, ‘मेरो अमेरिका भ्रमणको उदेश्य दुई देशबीचको सम्बन्धमा प्रगाढता ल्याउनु हो, भारत र अमेरिकाबीचको सुमधुर सम्बन्धले भारत र विश्वको लाभ हुनेछ।’
अमेरिका पुग्नुअघि मोदीलाई ट्रम्पले आफ्नो असल साथी बताएका थिए।
मोदीले अमेरिकामा राष्ट्रपति ट्रम्पसँग भेटगर्ने कार्यक्रम रहेको छ। मोदी तीन दिन अमेरिकामा रहनेछन्।
अमेरिकामा रहँदा मोदीले करीब २० अमेरिकी प्रमुख कार्यकारी अधिकारीहरुसँग भेट गर्नेछन्। आइतबार मोदीले अमेरिकाका कार्यकारी अधिकारीसँग भेट गर्ने बताइएको छ। सोमबार दिउँसो ट्रम्प र मोदीबीच ह्वाइट हाउसमा भेटघाट गर्ने कार्यक्रम रहेको छ। मोदीको स्वागतमा ह्यवाइट हाउसमा ट्रम्पले भोजको आयोजना गरेका छन्। यी दुई नेताले सँगै बिभिन्न कार्यक्रममा पाँच घण्टा बिताउने कार्यक्रम रहेको छ।
पाँच घण्टाको समयमा उनीहरुबीच महत्वपूर्ण रणनीतिक विषयमा छलफल हुने बताइएको छ।