मतदाताहरुका लागि आजदेखि मतदाता परिचय पत्र वितरणको काम सुरु हुने भएको छ। असार १४ गतेको निर्वाचनका लागि असार ११ देखि १३ गते सम्म सम्वन्धित मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गरिने दाङका मुख्य निर्वाचन अधिकृत चुरामण खड्काले जानकारी दिए।
दाङका सबैभन्दा विकट र टाढा मानिने कोईलावास र गंगटेसम्म मतदान केन्द्रमा शनिबार नै सबै मतदान अधिकृत पुगिसेको अधिकृत खड्काले बताए। उनले जिल्लाका ३ सय ५१ मतदान केन्द्रमा ३ सय ५१ मतदान अधिकृत र थप १ हजार ९ सय ४४ कर्मचारी निर्वाचन गराउनका लागि खटिएको बताए । त्यसैगरी सुरक्षाकर्मी पनि खटिएको मुख्य निर्वाचन अधिकृत खड्काले जानकारी दिए । ‘खटिएका कर्मचारीहरुले सम्वन्धित स्थानमा मतदान केन्द्र निर्माण गर्नेदेखि सर्वदलिय बैठक वसाल्ने कार्य असार १३ गतेसम्म पुरा गरिसक्नेछन् ।’ मुख्य निर्वाचन अधिकृत खड्काले भने ।
त्यसैगरी यसबीचमा सम्वन्धित निर्वाचन अधिकृतले मतगणनाका लागि सम्पूर्ण तयारी पुरागर्ने जानकारी दिए ।त्यसैगरी मतदान केन्द्रवाट आएका मतपेटिकाहरुलाई पूर्ण रुपमा सुरक्षित रुपमा भण्डारणगर्ने व्यवस्था मिलाउने दायित्व निर्वाहगर्ने उनले जानकारी दिए ।