महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई कोरियामा सहयोग अभियान शुरू भएको छ। कोरियामा कार्यरत केही युवाद्वारा खोलिएको स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान दक्षिण कोरियाको पहलमा उक्त सहयोग अभियान शुरु गरिएको हो।
स्वदेश भित्र वैज्ञानिक क्षेत्रमा खोज, अनुसन्धान तथा आविष्कार गर्न चाहनेको लागि सक्दो सहयोग गर्ने उद्देश्यले खोलिएको राष्ट्रिय आविष्कार केन्द्रले आर्थिक अभाव भएको भन्दै सहयोगको अपिल जारी गरेपछि कोरियामा रहेका केही युवाहरू सहयोग अभियानमा जुटेका हुन्।
केही सातादेखि सुरू गरिएको अभियानमा सहयोगीदाताहरूले २० हजार देखि १ लाख कोरियन वनसम्म सहयोग गरेको अभियानमा जुटेका काभ्रेका यम श्रेष्ठ बताउँछन्। सहयोगी दाताहरुले उत्साहपूर्वक रूपमा सहयोग गर्ने क्रम रहेकोले अभियान अझै केही साता जारी रहने बताए।
देश प्रविधि, वैज्ञानिक खोज तथा अनुशन्धानमा पछाडि परिरहेको अवस्थामा यसरी राष्ट्रिय आविष्कार केन्द्र खुल्नु राम्रो पक्ष रहेको अभियानमा जुटेका युवाहरुको बुझाइ छ ।
यसरी प्रविधि क्षेत्रमा टेवा पुर्याउने उद्धेश्यका साथ खोलिएको आविष्कार केन्द्रलाई राज्यले नै सहयोग गर्नुपर्ने हो तर पछिल्लो समय सहयोगको लागि राज्य उदासिन देखिएपछि कोरियाबाट राम्रो कामको लागि केही इट्टा थपौं भन्ने उदेश्यका साथ सहयोग अभियानमा जुटेको अभियानका संयोजक सर्वजित साहले बताए।
विज्ञान र प्रविधिका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने उदेश्यसहित पुन यतिखेर राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि संसार भर छरिएर रहेका नेपाली माझ सहयोग संकलन अभियानमा रहेका छन्।
दक्षिण एसियाकै नोबेल पुरस्कार मानिने रोमन म्यागासेसे पुरस्कार विजेता पुन सरकारले उपेक्षा गरेकोले जनता सामु आफू पुगेको बताउँछन्। विज्ञान, प्रविधिलगायतका क्षेत्रमा आवश्यक खोज, अनुसन्धान र आविष्कारको लागि उक्त केन्द्र स्थापना गर्न ५० करोड बजेटको लाग्ने पुनले बताएका छन्।
केन्द्रले ५० करोड संकलन गरेर जलविद्युतमा लगानी गरी त्यसबाट प्रत्येक वर्ष आउने आउने प्रतिफललाई अनुसन्धानका क्षेत्रमा खर्च गर्ने योजना राखेको छ। सो अभियान सफल बनाउन केन्द्रका अध्यक्ष पुनले प्राप्त गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका पुरस्कारसमेत बिक्रीका लागि राखिएको छ।