गृहमन्त्री जनार्दन शर्माले नारायणगढ–मामुग्लिन सडक खण्ड खसेको पहिरो पन्छाउने कार्यमा संलग्न हुँदा प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र जवान दीपकुमार मास्केको निधन भएकामा हार्दिक समवेदना प्रकट गरेका छन्।
गृहमन्त्री शर्माले शनिबार एक शोक वक्तव्य जारी गर्दै कर्तव्य पालनाको सिलसिलामा दुई राष्ट्र सेवक गुमाउनु परेको र प्रहरी जवानद्वय लीलबहादुर चेपाङ र सन्दिप कार्की समेत बेपत्ता भएको भन्दै शोक सन्तप्त परिवार, नेपाल प्रहरीका सकल दर्जा र आफन्तमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन्।
इच्छामनकामना गाउँपालिका–६ नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोले अवरुद्ध सडक खुलाई फर्कने क्रममा खसेको अर्को पहिरोमा परी प्रहरी कर्मचारीको निधनले आफूलाई असाध्यै दुखित तुल्याएको वक्तव्यमा उल्लेख छ।
प्रहरी कर्मचारीले कर्तव्यपालनाको एउटा मानक कायम गरेको उल्लेख गर्दै मन्त्री शर्माले नेपाल प्रहरी नागरिकको सेवामा सर्मपित छ, भन्ने स्थापित भएको बताएका छन्।
गृहमन्त्री शर्माले मृतक प्रहरी कर्मचारीका परिवारलाई राहत तथा बालबालिकाको पठनपाठन व्यवस्था मिलाउने वचतबद्धतासमेत व्यक्त गरेका छन्। गृहमन्त्रीले सोही दुर्घटनामा परी घाइते भएका ना ५ ख ७८२८ नं को ट्रकका चालक रामकुमार लामा र सहयोगी सोनु ब्लोनको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्। रासस