उदारवादी राज्य क्यालिफोर्नियाले राज्यकोषको खर्चले यौनिक अल्पसंख्यक प्रति विभेद गर्ने थप ४ अमेरिकी राज्यमा ‘भ्रमण प्रतिबन्ध’ लगाएको छ।
क्यालिफोर्नियाको कानुनअनुसार यौनिक अल्पसंख्यकलाई धार्मिक वा अन्य कारण देखाएर विभेद गर्ने स्थानहरुमा राज्यकोषको खर्चले भ्रमण गर्न पाइँदैन।
गत जनवरी महिनामा क्यालिफोर्नियाले पहिलो पटक त्यस्तो कानुन पारित गरेको थियो। त्यसबेला क्यालिफोर्नियाले कन्सास, मिसिसिपी, नर्थ क्यारोलाइना र टेनिसी भ्रमणमा बन्देज लागाएको थियो।
उक्त लिष्टमा अहिले अलाबामा, केन्टकी, साउथ डाकोटा र टेक्सास राज्यहरु थपिएका छन्।
क्यालिफोर्नियाको कानुनले भनेको छ - राज्यले नागरिक अधिकार रक्षा गर्न र विभेद रोक्न नेतृत्वकारी भूमिका खेल्नेछ।
क्यालिफोर्नियाका महान्यायाधीवक्ता जेभियर बेसेराले भनेका छन् - ‘ठूलो संख्यामा रहेका अमेरिकीलाई नागरिक अधिकारबाट बन्चित गर्ने विभेदकारी कानुन खारेज गर्ने कार्यमा हाम्रो देश धेरै अघि बढिसकेको छ। तर दुर्भाग्य, २१ औं शताब्दी लागिसक्दा पनि देशका सबै भागहरुमा त्यसो हुनसकेको छैन।’
ती नयाँ राज्यमा यौनिक अल्पसंख्यक माथि विभेदकारी कानुन पारित गरेका कारण क्यालिफोर्नियाले उक्त निर्णय लिएको बेसेराले बताएका छन्।
अलाबामा, साउथ डाकोटा र टेक्सासले यौनिक अल्पसंख्यकले वच्चा ‘एडप्ट’ गर्न वा हुर्काउन बन्देज लगाउने गरी हालै कानुन पारित गरेका छन् । त्यसैगरी केन्टकीले ‘धार्मिक स्वतन्त्रा विधेयक’ भन्दै यौनिक अलपसंख्यक विद्यार्थीलाई क्याम्पसका केही गतिविधिहरुबाट संग्लग्न हुनबाट रोक्ने गरी कानुन पारित गरेको छ।
विभिन्न नागरिक अधिकार समुहहरुले क्यालिफोर्निया राज्यले लिएको कदमको समर्थन गरेका छन्।
अधिकारकर्मी रिक् जिबुरले भनेका छन् - क्यालिफोर्नियालाई सशक्त आर्थिक शक्तिमा रुपान्तरण गर्ने मुल्य र मान्यता विपरित टेक्सास, नर्थ क्यालिफोर्निया, साउथ डाकोटा लगायतका राज्यले विभिद्कारी कानुन पारित गरेका छन्।
उनले भने - ‘क्यालिफोर्नियाले त्यस्ता गतिविधिलाई सार्वजनिक रुपले निन्दा गर्ने र आवश्यक आर्थिक कदम चाल्नु अनिवार्य छ।’
क्यालिफोर्नियाले लिएको कदमको अर्थ त्यहाँका नागरिकलाई यौनिक अल्पसंख्यकलाई विभेद गर्ने अन्य राज्य भ्रमण गर्न पाउँदैनन भन्ने होइन। निजी खर्चले कुनै एक राज्यको नागरिक अर्को राज्यमा जान स्वतन्त्र छन्।