पोर्चुगलको गर्मी क्षेत्र लेइरियाको पेद्रोगाउँ ग्रान्देमा गएको शनिबार ६४ जनाको ज्यान जाने गरी मारिने गरी जंगलमा डरलाग्दो आगलागी भयो। राजमार्गमा गुडिरहेका गाडीहरु ह्वार्रह्वार्ती बल्न थाले। गाडी तिब्र गतिमा कुदाएर भाग्न खोज्नेहरु एकैछिनमा जलेर खरानी भए।
पाँच जना साना केटाकेटीसहित तीन जना बाटैमा गाडी भित्र खरानी भए। छिमेकी गाउँमा घरभित्र बसेकाहरु पनि मरे। कोही पानीको ट्यांकी भित्र लुकेर बाँच्न सफल भए।
यसरी जंगलको भीषण आगलागीमा परेर मारिनेहरू सबैको सनाखत भएको छैन। कोही चिन्नै नसकिने गरी जलेका छन् भने कसैको पत्ता लगाउने नामोनिशान छैन। बुधबारसम्म ४१ जनाको सनाखत भएको छ। बाँकी आफन्त लास राखिएको लेइरिया अस्पताल गइरहेका छन्। फ्रान्स, बेलायत, स्वीजरल्याण्ड लगायत विभिन्न देशमा बसेर छुट्टी मनाउन गएका र केही पर्यटक परे पनि धेरैजसो पेद्रोगाउँ वरिपरिकै छन्। गाउँलेहरु मिलेर खोजी कार्य गरिरहेका छन्।
झण्डै ५ हजार भन्दा बढी खेतीमा काम गर्ने तथ्यांक सार्वजनिक भइरेहको पोर्चुगलको यो लेइरिया क्षेत्रमा पनि नेपालीहरु कृषिमा काम गर्छन्। तर संयोगवश आगलागी भएको पेद्रोगाउँमा भने कोही नेपाली बस्दैनन्। गैर आवासीय नेपाली संघका अध्यक्ष भीम केसी कमलले आगलागीमा नेपाली परे नपरेको एनआरएन र नेपाली कन्सुलरको संयुक्त प्रयासमा खोजी भएको तर अहिलेसम्म कोही नपरेको फेसबुकबाट जानकारी दिएका छन्।
सेतोपाटीले लेइरिया प्रहरीसँग खोजी गर्दा अहिलेसम्म नेपाली नागरिक नपरेको जानकारी प्रहरीले दियो। घटनास्थलभन्दा १५ किलोमिटर दूरीमा काम गर्ने वुटवल सुख्खानगरका सुदीप मश्राँगीले केही नेपालीलाई कम्पनीले सोही बाटो हुँदै अर्को कृषि फर्ममा लाने गरेको बताए। आफू पनि सो बाटो हुँदै धेरै पटक ओहोरदोहार गरेको बताए। उनले भने, ‘अहिलेसम्म सबै नेपालीहरु सकुसल छौँ।’
धेरै नेपालीहरु गैर कानूनी रुपमा पोर्चुगलमा बस्दै आएको हुनाले यस्तो भवितव्यमा सतर्क रहनुपर्ने देखिन्छ। वर्षेनी आगलागीले ज्यानै जाने गरी घटना घटिरहने पोर्चुगलमा सरकारको बेवास्ता र काठ तस्करहरुको लापरवाहीमा आगलागीका घटना घट्ने गर्दछन् भनी स्थानीय पत्रपत्रिकाले लेखेको छ । बिहान रेडियोबाट चालीस डिग्रि तापमान नाघ्ने कुरा बताइरहँदा पनि घना जंगलको यो बाटोमा उचित सतर्कता नअपनाइएको भन्दै सरकारले छानविनको लागि आयोग बनाएको छ । संसदमा गम्भीर रुपमा छलफल पनि भएको छ।