उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र नेपालका लागि अल्जेरियाका गैरआवासीय राजदूत हाम्जा याहिया चेरिफबीच शुक्रबार भेटवार्ता भएको छ।
परराष्ट्र मन्त्रालयमा शुक्रबार भएको उक्त भेटमा अल्जेरियाली राजदूत चेरिफले आफ्ना नागरिकलाई निःशुल्क स्वदेश फर्कने अनुमति दिएकोमा अल्जेरिया सरकारको तर्फबाट नेपाल सरकारलाई धन्यवाद दिए।
राष्ट्रियता नखुलेका कारण अल्जेरियाली नागरिक अब्देल कादेर इब्राहिम अजुज विगत १६ वर्षदेखि नेपालमा शरणार्थीका रुपमा बस्दै आएका थिए।
उनको राष्ट्रियता खुलेसँगै अल्जेरियाली सरकारले स्वदेश फर्काइदिन नयाँ दिल्लीस्थित अल्जेरियाली दूतावासमार्फत नेपाल सरकारलाई अनुरोध गरेको थियो। नेपाल सरकारले प्रवेशाज्ञा र जरिवानाबापत लाग्ने शुल्क मिनाहा गरी उनलाई स्वदेश फर्कन अनुमति दिएको हो।
परराष्ट्रमन्त्री महराले सन् २०१८ देखि २०२० को अवधिका लागि संयुक्त राष्ट्रसङ्घको मानवअधिकार काउन्सिलको सदस्य पदमा नेपालले उम्मेदवारी दिएको जानकारी दिँदै त्यसमा समर्थन जनाइदिन राजदूत चेरिफमार्फत अल्जेरियालीे सरकारसँग आग्रह गरेका थिए।
सो अवसरमा अरब क्षेत्रमा देखिएको वर्तमान गतिरोधका विषयमा समेत छलफल भएको थियोे । रासस