राजस्व निर्धारण गर्दा अनियमितता गरेको आरोपमा २० दिनअघि पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मालाई अझै सात दिन म्याद थप गरिएको छ।
उक्त आरोपमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ १८ गते पक्राउ गरेको थियो। पक्राउ गरेर अनुसन्धान गर्ने समय माग्न उनलाई विषेश अदालत लगिएको थियो।
विषेशले यसअघि तीन पटकसम्म अनुसन्धानको म्याद थप गरिसकेको छ र यो पटक सात दिन थप्दा २७ दिन पुग्ने रजिष्ट्रार भिमप्रसाद श्रेष्ठले बताए।
कानुनमा ६ महिनासम्म लगाएर अनुसन्धान गर्न सकिने उल्लेख छ। त्यो बेलासम्म आरोपीलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिन सक्ने उनले बताए।
‘कानुनमा त ६ महिनासम्म म्याद थप्न सकिने उल्लेख छ अब उहाँको केसमा अख्तियारले कति समय माग्छ र इजलासले कति दिन्छ अहिलै थाहा हुँदैन,’उनले भने।
राजस्व हिनामिना गरेको आरोपमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको थियो। कर फर्छ्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्ति, एनसेल बिक्री करमा छुटको लबिङ लगायतका विवादित मुद्दामा मुछिएका शर्मालाई अख्तियारकै हिरासतमा राखेर अनुसन्धान गरिएको छ।