मोरङको लेटाङ नगरपालिका वडा नं ६ मा नेपाली कांग्रेसबाट खुल्ला सदस्यको उम्मेद्वार मात्रिकाप्रसाद भण्डारीको बिहीबार बिहान निधन भएको छ ।
छपन्न वर्षीय भण्डारीको मुटुसम्बन्धी रोगका कारण बिहान ११ बजे निधन भएको हो । भण्डारी चुनावी घरदैलो कार्यक्रममा हिँड्ने क्रममा चार/पाँच दिनदेखि नै बिरामी रहेको र आज बिहान झापाको दमकमा उपचार गराएर फर्कने क्रममा बाटोमै मृत्यु भएको सो वडामा कांग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवार जङ्ग तामाङले जानकारी दिए।
विसं २०४६ देखि नै नेपाली कांग्रेसमा आबद्ध भण्डारी स्थानीय सामाजिक सङ्घसंस्थामा पनि आबद्ध थिए। उनका श्रीमती, तीन छोरा र एक छोरी छन्। क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले सो वडाका लागि पुनः मनोनयन दर्ता गरिने बताए।