खेलकुदको आडमा युवालाई विदेश पठाइने भन्दै मोटो रकम असुल गरेका पूर्वराष्ट्रिय गोलकिपर लोकबहादुर शाही ५ करोडभन्दा बढी रूपैयाँ ठगीको आरोपमा पक्राउ परेका छन्। करिब २५ युवालाई क्यानडा पठाइदिन्छु भन्दै रकम असुलेको आरोपमा उनीमाथि महानगरीय प्रहरी अपराध महाशाखा, टेकुमा उजुरी परेको थियो। प्रहरीले बिहीबार उनलाई टोखाबाट पक्राउ गरेको हो।
शाहीले यसै वर्ष मे १५ देखि २५ सम्म क्यानडाको टोरन्टोमा आयोजना हुने एउटा मैत्रीपूर्ण फुटबल खेलमा सबैलाई लैजाने र प्रतियोगिता सम्पन्न भएपछि सबैलाई त्यहीँ छोड्ने सर्तमा हरेक खेलाडीबाट जनही २ लाख ५० हजार रुपैयाँ उठाएका थिए।
प्रतियोगिताका लागि ललितपुरको श्री कुसुन्ती युवा क्लबबाट खेलाडीको नाम दर्ता गरिएको थियो। तर, शाहीले भनेको समयमा सबैलाई उडाउन नसकेपछि ९ जना युवाहरुले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दर्ता गराए।
‘क्यानडाको टोरन्टो पठाइदिन्छु भन्दै मसँग २ लाख ५० हजार रुपैयाँ लिए। उनले मे को दोस्रो साता हामीलाई फुटबल खेल्न त्यहाँ पठाउने भनेका थिए। अहिले जुनको दोस्रो साता बितिसक्दा न उनले हामीलाई क्यानडा पठाए, न हाम्रो पैसा फिर्ता गरेका छन्,’ उजुरीकर्ता राजकुमार श्रेष्ठले सेतोपाटीसँग भने।
प्रहरीका अनुसार शाहीले बैंकमार्फत पैसा बुझेका छन्। ‘१० दिनसम्म फुटबल खेल्नु। त्यसपछि त्यहीँ (क्यानडा) लुकेर बस्दा हुन्छ। १–२ वर्षपछि त्यहीँ बस्ने कानुनी कागज बन्छ भनेर सबैसँग २ लाख ५० हजार रुपैयाँ बुझेका रहेछन्,’ महाशाखाका एसएसपी दीनेश अमात्यले भने, ‘पैसा नेपाल इन्भेष्टमेन्ट बैंकमा जम्मा भएको देखियो। र, पैसा बुझेको रसिद स्पोर्ट्स् फर अल भन्ने संस्थामार्फत दिएको देखियो।’
लोकबहादुर शाही सन् १९८४ मा नेपालले साफ गेममा स्वर्ण जित्दा राष्ट्रिय टोलीका गोल किपर थिए। उनले करिब १० वर्ष राष्ट्रिय टोलीको गोलकिपरको भूमिका निर्वाह गरेका थिए। गणेश थापा अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष हुँदा करिब १० वर्ष उनी महासचिव थिए। उनलाई तीन वर्ष अघि एन्फाले सरदचन्द्र शाह स्मृति पुरस्कारबाट सम्मान गरेको थियो। उनी राप्रपा नेपालका पूर्व खेलकुद विभाग प्रमुख पनि हुन्।
करिब एक दशक अगाडि उनले ‘स्पोर्ट्स फर अल’ नामक संस्था दर्ता गरेर यसबाट विदेशमा हुने प्रतियोगितामा पूर्व तथा युवा खेलाडीलाई लैँजादै आइरहेका थिए। करिब ३ वर्ष अगाडि उनले नेपालमा कुनै पूर्वाधार नभएको आइस हकी संघ दर्ता गरेका थिए। जसलाई राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको छ।