निर्माण क्षेत्रमा कोरियन कामदारलाई प्राथमिकता दिनुपर्ने माग राख्दै हजारौंको संख्यामा कोरियन मजदुर आन्दोलित भएका छन्। गत मंगलबारदेखि राजधानी सोलको ग्याङ्वामुन स्क्यार नजिकै प्रदर्सनमा उत्रिएका निर्माण क्षेत्रका करिब ८ हजार मजदुरले अवैधानिक विदेशी कामदारको कारण धेरै समस्या निम्तिएको भन्दै उनीहरुलाई तुरून्त हटाइनुपर्ने माग राखेका छन्। आन्दोलन बुधबार पनि जारी रहने बताइएको छ।
चीन तथा मध्यपूर्वी एसियाबाट ल्याइएका कामदारले थोरै ज्यालामा काम गरिदिने हुनाले कम्पनीले कोरियनलाईभन्दा विदेशी कामदारलाई प्राथमिकता दिएको कारण समस्या निम्तिएको उनीको बुझाइ छ। सरकारले निर्माण क्षेत्रका कम्पनीको स्तरोन्नति गरि कोरियन कामदारलाई प्राथमिकतामा राख्नुपर्ने माग उनीहरूको छ।
निर्माण क्षेत्रका कम्पनीले विदेशी कामदार राख्न पाउने कोटाभन्दा धेरै कामदार राखेको उनीहरूको आरोप छ। हाल निर्माण क्षेत्रमा ३ लाख विदेशी कामदार कार्यरत भएकोमा सो संख्या ती कम्पनीले पाउने कोटाभन्दा ६७ हजार बढी भएकोले तुरून्तै छानबिन हुनुपर्ने उनीहरुको माग छ।
राष्ट्रपति मुन जे इनले कोरियाको सत्ता समालेपछि मजदुरहरुले गरेको यो आन्दोलन सबैभन्दा ठूलो भएको कोरियाली समाचार एजेन्सीले लेखेका छन्।
गत वर्ष कोरिया कन्स्ट्रक्सन एण्ड इकोनोमी रिसर्च इन्स्टिच्यूटले गरेको एक अध्यनमा निर्माण क्षेत्रमा २ लाख ९० हजार विदेशी कामदार कार्यरत रहेको तथ्य सार्वजनिक गरेको थियो। उक्त संख्या निर्माण क्षेत्रका कुल कामदारको ३५ प्रतिशत हो।