उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरालले ११ दिनदेखि बेपत्ता तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको परिवारलाई घरमै गएर भेटेका छन्। आइतबार साँझपख १०औं दिनका दिन तुलसीपुर ५ स्थित श्रेष्ठको घरमै गएर नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरालले उनका परिवारजनलाई भेटेर सान्तवना दिएका छन्।
अपहरणमा परेको आशंका हुँदै आएका श्रेष्ठकी पत्नी निर्मला श्रेष्ठले उपप्रधानमन्त्री महरालाई आफ्ना श्रीमानको बारेमा सत्य तथ्य बाहिर ल्याउन माग गरेकी थिइन्।
निर्मलाले आफ्ना श्रीमानको कोही कसैसँग झैंझडा र रिसिवी भएको आफूले थाहा नपाएको जानकारी दिँदै के कारणले उहाँको अपहरण भएको सत्य तथ्य सार्वजनिक गर्न माग गरेकी थिइन्। ‘यति दिनसम्म म र मेरो परिवार वेचैन छौं, हाम्रा आँशु ओभाउन सकेका छैनन्, यसरी कति दिन पीडा खेप्ने,’ निर्मलाले भनिन्,‘ मेरा श्रीमानलाई किन अपहरण गरिएको हो र कस्ले गरेको हो, उहाँको अवस्था के छ त्यो सार्वजनिक गर्न भूमिका खेलिदिनुहोस्।’
श्रेष्ठका छोरा निरज श्रेष्ठले पनि आफ्ना बाबाको अवस्था यथासक्य चाँडो सार्वजनिक गर्न माग गरेका थिए। यसअघि तुलसीपुरकै रत्नबहादुर ओली जंगलमा मृत अवस्थामा फेला पर्नु र अहिले पनि त्यस्तै घटना दोहरिनुले तुलसीपुर असुरक्षित रहेको तथ्य उजागर भएको भन्दै सुरक्षा व्यवस्था भरपर्दो गराउन माग गरेका थिए।
तुलसिपुरकै अर्का व्यापारी ३८ वर्षीय रत्नवहादुर ओली घोराही लमही सडक खण्डको चौपट्टा जंगलमा मृत फेला परेका थिए। संयुक्त राष्ट्र संघले पनि ५८ वर्षीय राजकुमार श्रेष्ठ, अन्दाजी ३२ वर्षीय घोराहीका रणबहादुर घर्ती र थप अर्की एक जना महिला अपहरणमा परेको खबर सार्वजनिक भएपछि आफ्ना कर्मचारीहरुलाई तुलसीपुरमा रात नबस्न सचेत गराएको छ।
तुलसीपुर असुरक्षित भएको भन्दै संयुक्त राष्ट्र संघले कामको सिलसिलामा दिनभर खटिएता पनि रातको समयमा भने अन्यत्र सुरक्षित स्थानमा गएर वास वस्न आफ्ना कर्मचारीलाई निर्देशन दिएको हो।
यसैबीच उपप्रधान र गृहमन्त्री दुबै राप्ती कै हुँदा पनि श्रीमान अपहरणमा परेको यतिका दिन वितिसक्दा उहाँको सत्य तथ्य अवस्था सार्वजनिक गर्न नसक्नुले राज्यले वास्ता नगरेको परिवारजनको गुनासो थियो।
जवाफमा उपप्रधानमन्त्री महराले राजकुमारजीको अपहरणको विषयमा यसअघि नै गृहमन्त्रीसँग आफूले कुरा गरेको भन्दै उहाँलाई सकुशल उद्धारका लागि राज्यले कुनै कसुर बाँकी नराख्ने आश्वासन दिएका थिए।
उनले तत्कालै त्यहीबाट फोन सम्पर्क गरि राजकुमार श्रेष्ठको बारेमा राप्ती अञ्चल प्रहरी प्रमुख एवं श्रेष्ठको खोजीका लागि गठिन समितिका संयोजक एसएसपी ज्ञान विक्रम शाहसँग बुझेका थिए । शाहले जति हुन्छ छिटो उहाँको अवस्था बारे तथ्य सत्य सार्वजनिक गर्ने गरी प्रहरी लागि परेको बताएका थिए।
जेठ २६ गते साँझ तुलसीपुरको एक कार्यक्रममा सहभागी भएका व्यापारी श्रेष्ठ सोही दिन रातको साढे ९ बजेदेखि वेपत्ता रहेको प्रहरीले बताएको छ। उनले प्रयोग गर्दै आएको निजी जिप भने छिमेकी जिल्ला सल्यानको जंगलमा फेला परेको थियो। जहाँ अर्को इन्डियन प्लेटको जिप पनि फेला परेको थियो।